२०८१ बैशाख २१, शुक्रबार    

मनहरीमा लम्पी स्किनले १६ वस्तु मरे

२०८० बैशाख ९, शनिबार १८:२६ बजे

मकवानपुरको मनहरी गाउँपालिकामा लम्पी स्किन रोगका कारण १६ वटा गाईवस्तुमा मरेका छन् । पछिल्लो समय गाइवस्तुमा देखिएको यो रोगका कारण शनिबारसम्ममा मनहरीमा १६  वस्तु मरेका हुन् ।

  मनहरीको १ नम्बर वडास्थित चकरी मकरीमा १० वटा वस्तु मरेका छन् । यस्तै ४ नम्बर वडाको नयाँवस्तीमा ३ वटा, ५ नम्बर वटाको दर्दरामा एउटा र ९ नम्बर वडाको ज्यामिरेमा २ वटा वस्तु मरेको मनहरी गाउँपालिकाको पशु विकास शाखाको तथ्याङ्कमा उल्लेख छ । लम्पी स्किनको संक्रमण देखिने वित्तिकै पालिकामा रहेका दुईजना प्राविधिक खटिएका छन् ।

‘साविक हाँडीखोला र त्यसमा पनि १ नम्बर वडामा यो रोगले बढी असर पु¥याएको छ’, मनहरीका पशु प्राविधिक चुडामणि अधिकारीले भने, ‘किसानको गोठगोठमा पुगेर निशुल्क औषधि वितरण सहित आवश्यक उपचार गरिरहेका छौं ।’ मनहरी गाउँपालिकामा हाल दुईजना पशु प्राविधिक रहेका छन् । दुईजना प्राविधिकले मात्रै किसानकोमा पुगेर लम्पी स्किनको उपचार गर्न सक्ने अवस्था नरहेको बताइएको छ ।

   गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले लम्पी स्किनको रोगबाट गाईभैंसी लगायतका पशुलाई जोगाउन पालिकाले आवश्यक पहलकदमी गरिरहेको जानकारी दिए । यसका लागि प्राविधिकलाई खटाइएको जानकारी दिँदै उनले थप क्षति हुन नदिन गाउँपालिका लागिपरेको उनको भनाई थियो । यस रोगको बिषयमा जानकारी गराउने उद्देश्यले पशुपालक किसानहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिएको अध्यक्ष कालाखेतीले बताए । मनहरीको १ नम्बर वडामा ८० वटा घरपालुवा पशुलाई लम्पी स्किनको संक्रमण भएको छ भने २ मा ५ वटा, ३ मा १० वटा, ४ मा १५ वटा, ५ नम्बर वडामा १० वटा तथा ७ र ९ नम्बर वडामा १५/१५ वटालाई संक्रमण भएको जानकारी दिइएको छ ।