पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्न चाहेको चर्चा सेलाएको छैन ।
जर्मन क्लब बायर्न म्युनिख र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) जान इच्छा देखाएका उनको सो प्रयास तत्काल पूरा नहुने भएको छ । एसियाली क्लबबाट सर्वाधिक रकममा सरुवा रकमको चर्चा पनि सेलाएको छैन । कुनै ठोस निर्णय नहुँदा अहिले सम्म उनले क्लब छाड्ने टुंगो भने लागिसकेको छैन । त्यसअर्थ उनले यो सिजन युनाइटेडमै बिताउने सम्भावना छ ।
क्लब छाड्ने चर्चाका बीच रोनाल्डो क्लबको नयाँ अवे जर्सीको तस्बिरमा देखिएका छन् । प्रि सिजनका लागि अष्ट्रेलियामा रहेयता टोलीको मार्केटिङ किट सार्वजनिक गरेको यो दोस्रो पटक हो । अष्ट्रेलिया भ्रमणमा रोनाल्डो भने छैनन् ।
नयाँ सेतो जर्सीमा केहि भाग काँधमा कालो र रातो धर्सा रहेका छन् । मेलबर्नमा किट सार्वजनिक गर्दा लुक शा, मार्कस रासफर्ड, जेडन सान्चो, ब्रुनो फर्नान्डेस र स्कट म्याकटोमिने सहभागी थिए । यो सिजनको अवे जर्सी गत सिजनकै जस्तो रहेको छ । युनाइटेडले टोलीले त्यस्तै जर्सी १९८६-८८, १९९१ को प्रतियोगिता र १९९६ को सिजनमा प्रयोग गरेको थियो ।
रोनाल्डोले युनाइटेड छाड्लान् ?
किट सार्वजनिक कार्यक्रममा रोनाल्डो थिएनन् । तर पनि टोलीको वेब साइटमा राखिएको तस्बिरमा रोनाल्डो नयाँ जर्सीका साथ रहेका छन् । भर्खरै मात्र उनले साउदी अरेबियाको क्लबबाट आएको आकर्षक प्रस्तावलाई अस्वीकार गरेका थिए ।
सञ्चारमाध्यमका अनुसार अझै पनि रोनाल्डो युनाइटेड छाड्न चाहिरहेका छन् । बायर्न म्युनिख,पिएसजी र चेल्सीबाट प्रस्ताव स्वीकार नहुँदा उनी अन्यत्र जान सक्ने सम्भावना कम छ । एक वर्षको सम्झौता बाँकी रहँदा युनाइटेडले उनसँग थप सम्झौता गर्ने सम्भावना कम छ । यद्दपी युनाइटेड यसपटक च्याम्पियन्स लिगमा छैन । च्याम्पियन्स लिग नखेल्ने टोलीमा रोनाल्डोको रुची पक्कै रहने छैन ।