२०८० चैत्र १५, बिहीबार    

शान्ति सुरक्षाको विषयमा सम्झौता हुँदैन : प्रहरी प्रमुख गौतम

२०७९ श्रावण १३, शुक्रबार १७:०१ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमले शान्ति सुरक्षाको विषयमा कुनै पक्षसँग पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार हेटौंडामा सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले जिल्लाको समग्रमा विषयमा आफू जानकार रहेकोभन्दै यहाँको समस्या समाधान गर्न हदैसम्म काम गर्ने प्रतिबद्धता जनाए । ‘शान्ति सुरक्षाको विषयमा कुनै पक्षसँग पनि सम्झौता गर्दिन । लागूऔषध नियन्त्रण, शान्ति सुरक्षा कायम, ट्राफिक व्यवस्थापनको विषयमा विशेष योजना बनाएर काम गर्नेछु ।’, भर्खरैमात्र मकवानपुर सरुवा भएर आएका गौतमले प्रहरी नायब उपरीक्षकहुँदा यसै जिल्लामा बसेका कारण काम गर्न सहज हुने दावी गरे ।

उनले जिल्लाको विभिन्न स्थानमा हुने लागूऔषध खेती र ओसारपसारलाई न्यूनीकरण पहिलो प्राथमिकतामा रहेको बताए । ‘गाँजा खेती गर्न पाउने विषयमा बहस सुरु भएको छ । जसको कारणले खेती गर्ने दर पनि बढिरहेको छ । यसलाई न्यूनीकरण गर्नु अहिलेको आवश्यकता पनि हो ।’, उनले भने ।

उनले बजार क्षेत्रको सडक साँघुरो भएका कारण सवारी दुर्घटना बढेको र ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको औंल्याए । ‘दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिनेछौं ।’, उनले भने । महिला हिंसा न्यूनीकरणको क्षेत्रमा पनि स्थानीयसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता उनले जनाए ।

उनले मिटर ब्याज, ढुकुटी र चेक अनादारको विषयमा कसरी काम गर्न सकिन्छ भनेर आन्तरिक छलफल गरिरहेको समेत बताए ।