२०८१ बैशाख २७, बिहीबार    

टोल विकासद्वारा दुईवटा विद्यालयमा अक्षयकोष स्थापना

२०७९ चैत्र २९, बुधबार १८:५० बजे

हेटौंडा–७ स्थित किरणचोक टोल विकास संस्थाले त्यसक्षेत्रका दुईवटा विद्यालयका लागि अक्षयकोष स्थापना गरेको छ ।

हेटौंडा–७ मा रहेको नवज्योति मावि र हेटौंडा–८ स्थित चन्द्रोदय माविमा संस्थाले अक्षयकोष स्थापना गरेको छ । गत फागुनमा आयोजना गरिएको श्रीमद् भागवत ज्ञान महायज्ञबाट संकलित रकमबाट दुईवटै विद्यालयमा १ लाख १ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको हो ।

टोल विकास संस्थाका अध्यक्ष राजु अधिकारीका अनुसार गत फागुन महिनामा आयोजना गरिएको सप्ताहबाट १४ लाख ८२ हजार रुपैयाँ रकम संकलन भएकोमा १० लाख ५६ हजार खर्च रुपैयाँ भएको थियो ।

मंगलबार किरणचोक टोल विकास संस्था र किरणचोक आमा समूहको संयुक्त आयोजनामा नयाँ वर्षको सन्दर्भ पारेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको छ । उनका अनुसार महायज्ञको आयोजना गरेर बचत भएको रकमबाट टोल विकास संस्थाले समुदायले प्रयोग गर्ने गरी भोजका लागि आवश्यक भाँडाकुँडा खरिद गरिएको छ ।

किरणचोक आमा समूह अध्यक्ष सावित्री अधिकारीका अनुसार आगामी साउन १ गतेदेखि टोलको फोहोर निःशुल्करुपमा संकलन गरिने र संस्थामा आवद्ध भएका असल बचतकर्ता र ऋणी गरी एक/एक जनालाई सम्मानस्वरुप नि ः शुल्क स्वास्थ्य वीमा गरिने भएको छ । किरणचोक टोल विकास संस्थामा १ सय २० घरधुरी रहेको छ ।

टोल विकास संस्थाका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षता तथा हेटौंडा–७ का वडाअध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा हेटौंडा–८ का वडाअध्यक्ष रामकृष्ण थापा, सदस्य गोरख राय, टोल विकास संस्था नगर समन्वय समितिका नगर अध्यक्ष ध्रुव अधिकारी, हेटौंडा उपमहानगरपालिकाको वातावरण शाखाका प्रमुख भैरव कुमाल लगायतको आतिथ्य रहेको थियो ।