२०८० चैत्र १६, शुक्रबार    

वस्तुगत समन्वय भवन निर्माण गर्न जग्गा माग

२०७९ भाद्र १३, सोमबार १८:०० बजे

मकवानपुर उद्योग बाणिज्य संघ, हेटौंडाले वस्तुगततर्फको समन्वय भवन निर्माण गर्न जग्गा माग गरेको छ ।

संघ उपाध्यक्ष तथा वस्तुगत समन्वय समिति संयोजक राजु अधिकारीले हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामा र उपमेयर राजेश बानियाँलाई ध्यानाकर्षण पत्र बुझाउँदै भवन निर्माण गर्न जग्गा माग गरेका हुन् । लामाले संघको मागप्रति आफू गम्भीर रहेको र जग्गाको पहिचान र भोगचलनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छन् ।

उपमेयर बानियाँले पनि व्यवसायीको समस्या र समाधानको विषयमा आफू जानकार रहेको र सोही अनुसार सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । उद्योग बाणिज्य संघमा वस्तुगततर्फ ३२ वटा संघ आबद्ध रहेका छन् ।

‘अझै धेरै संघहरु आबद्ध हुने क्रममा रहेका छन् । वस्तुगत संघहरुले छुट्टाछुट्टै भवन निर्माण गर्नुभन्दा एकीकृतरुपमा भवन बनाएर अगाडि बढ्दा सहज हुने देखियो । सोही अनुसार हामीले जग्गा माग गरेका हौं ।’, संयोजक अधिकारीले भवन निर्माणका लागि करिब १४ कठ्ठा जग्गा आवश्य रहेको बताए । उनका अनुसार हेटौंडा–६ र १७ नम्बरमा जग्गाको खोजी भइरहेको छ ।
‘स्थानीय तह र वस्तुगत संघ एकअर्काका पूरक हुन् । व्यवसायीलाई थप व्यवस्थित बनाउन पनि उपमहानगरको सहयोग आवश्यक रहेको छ । त्यसैले हामी व्यवस्थितरुपमा संघसंस्था सञ्चालन गर्दै नगरको विकासमा टेवा पुर्‍याउन तयार छौं ।’, उनले थपे ।

ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा भवन निर्माण सहसंयोजक प्रदीप अर्याल र वस्तुगत संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।