२०८१ बैशाख ७, शुक्रबार    

वाग्मतीलाई उज्यालो प्रदेश बनाउने मुख्यमन्त्रीको घोषणा

२०७८ चैत्र १०, बिहीबार १३:३९ बजे

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार र नेपाल विद्युत प्राधिकरणवीच सहकार्य गरेर वाग्मती प्रदेशाई उज्यालो प्रदेश बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हेटौंडामा आयोजित ‘नेपालमा उर्जा क्षेत्रको अर्थ–राजनीतिक विश्लेषण’ सम्बन्धी अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारबाट जल उर्जा र अन्य वैकल्पिक उर्जाको उत्पादन र प्रयोगमा वाग्मती प्रदेश सरकारका प्राथमिकताहरु जानकारी गराएका छन् । मुख्यमन्त्री पाण्डेका अनुसार आगामी आर्थिक वर्षमा प्रदेश सरकारले विद्युत प्राधिकरणसंग सहकार्य गरेर शतप्रतिशत घरधुरीलाई विद्युत सेवा उपलब्ध गराउने, विद्युत खपत बढाउन न्युन आय भएका परिवारलाई सहुलियत दरमा इन्डक्सन चुल्हो उपलब्ध गराउने र विद्युतीय सवारीलाई प्रवद्र्धन गर्न विभिन्न स्थानमा चार्जिङ स्टेशन बनाउने कार्य गर्नेछ ।

वाग्मती प्रदेश सरकारका खानेपानी, सिंचाई र उर्जा मन्त्री बसन्तप्रसाद मानन्धर, प्रदेश नीति तथा योजना आयोगका सदस्य राजु नेपाल, मन्त्रालयका सचिव मोहन शाक्य, अर्थशास्त्री विश्वम्भर प्याकुरेल, आर्थिक कुटनीति र नीजि क्षेत्रको विकासमा संलग्न नरेश श्रेष्ठ, नेपाल विद्युत प्राधिकरण, प्रदेश डिभिजन कार्यालय हेटौंडाका प्रमूख दिपेन्द्र द्धिवेदी, नेपाल चेम्बर अफ कमर्स, मकवानपुरका सिद्धिदास श्रेष्ठ र माधव न्यौपानेलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

मन्त्री बसन्त प्रसाद मानन्धर र सचिव शाक्यले प्रदेश सरकारले नेपाल विद्युत प्राधिकरणका कुनै पनि कार्यालयलाई हालसम्म पनि सरकारी तवरमा चिन्न सक्ने अवस्था नरहेको जानकारी गराउँदै प्रदेश मन्त्रालय मातहत विद्युत उत्पादन, प्रसारण र नियमन सम्बन्धी प्रादेशिक संरचानाहरु रहने कानुनी व्यवस्था गर्न जोड दिए । कार्यक्रमको संयोजन युएसएडको उर्जा नेपाल कार्यक्रमबाट गरिएको थियो ।