२०८० मंसिर १९, मंगलबार    

मुख्यमन्त्रीले विश्वासको मत लिँदै

२०७९ माघ ३, मंगलबार ०८:५३ बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार विश्वासको मत लिँदै छन् । पुस २५ मा मुख्यमन्त्रीको शपथ लिएका उनले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार विश्वासको मत लिने सबै प्रक्रिया सरकारले पूरा गरिसकेको छ । प्रदेशसभामा ७ वटा राजनीतिक दलको प्रतिनिधित्व छ । जम्कट्टेल प्रदेशसभाको ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनलाई एमालेका २७, माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन छ । १ सय १० सदस्यीय प्रदेशसभामा ५६ पुगेको खण्डमा उनका लागि विश्वासको मत सहज हुने देखिन्छ । सभामुख र उपसभामुख चयन प्रक्रियामा सत्तापक्षका उम्मेदवारलाई मतदान नगरी तटस्थ बसेको एकीकृत समाजवादीले विश्वासको मत दिने/नदिने टुंगो छैन । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेस प्रदेशमा मौन छ । ३७ जनाको प्रतिनिधित्व रहेको कांग्रेस प्रदेशको सबैभन्दा ठूलो दल हो । ३ सांसद रहेको नेपाल मजदुर किसान पार्टीले प्रतिपक्षमा बस्ने प्रस्ट पारिसकेको छ ।

विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी मुख्यमन्त्री जम्कट्टेलको छ । हाल प्रदेशको मन्त्रिपरिषद् ३ सदस्यीय छ । समाजवादीले आफूले माग गरेको मन्त्रालय पाएमा विश्वासको मत दिने र सरकारमा सहभागी हुने मुख्यमन्त्री सचिवालयको दाबी छ । कांग्रेसभित्र विश्वासको मत दिने र नदिने दुई खेमा प्रस्ट देखिएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले कांग्रेस सशक्त प्रतिपक्षीको भूमिकामा बस्ने बताए पनि विश्वासको मतको विषयमा निर्णय गरिसकेका छैनन् ।

यस्तै, वाग्मती प्रदेशसभाको उपसभामुखमा एमाले सांसद अप्सरा चापागाईं चयन भएकी छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनअनुसार बहुमत प्राप्त गर्दै उनी निर्वाचित भएकी हुन् । १ सय ८ सांसद बैठकमा सहभागी भएका थिए । सभामुख भुवन पाठकबाहेक १ सय ७ सांसदले मत विभाजन प्रक्रियामा सहभागी भएकोमा चापागाईंको पक्षमा ६१ मत परेको हो । जुन तत्काल कायम रहेको सांसद संख्याको बहुमत हो । उनको विपक्षमा ३९ र ७ जनाले तटस्थमा मतदान गरेका थिए । उनी सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी हुन् । गठबन्धनमा भएको सहमतिअनुसार एमालेले वाग्मतीमा उपसभामुख प्राप्त गरेको हो ।

उपसभामुखमा उम्मेदवारी दिएकी नेमकिपाकी गीता काफ्लेको पक्षमा ३ मत पर्‍यो भने विपक्षमा ६१ र ४३ सांसद तटस्थ बसेका थिए । बहुमत सदस्य विपक्षमा भएपछि उपसभामुखमा उनको प्रस्ताव अस्वीकृत गरिएको थियो । दोस्रो चरणको मत विभाजनमै चापागाईंको पक्षमा बहुमत जुटेपछि कांग्रेसका उम्मेदवारको प्रस्ताव निर्णायार्थ पेस नै भएन । कांग्रेसले सुना परियारलाई उम्मेदवार बनाएको थियो । पहिलो कार्यकालमा माओवादीकी राधिका तामाङ उपसभामुख थिइन् ।