२०८१ बैशाख १७, सोमबार    

वाग्मतीले खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने

२०७९ श्रावण २४, मंगलबार १४:४४ बजे

वाग्मती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने प्रदेशका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको छ ।  गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने सरकारको घोषणासँगै प्रतियोगिताको तयारीमा जुटेको बागमती प्रदेश सरकारले नवौंमा सहभागी हुने खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राखेर तयारी गर्ने निर्णय गरेको हो । 

‘राष्ट्रिय खेलकुदमा सबैभन्दा बलिया टिम भनेकै विभाग हो । विभाग भन्दा राम्रो नतिजा निकाल्न जिल्ला र प्रदेशबाट छनोट भएका खेलाडीलाई तयारी राम्रोसँग गराउनुपर्छ । सोही कारण विभागीय टिम भन्दा राम्रो नतिजा निकाल्न प्रदेश छनोटबाट आएका खेलाडीलाई लामो समय बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको हो ।’ प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले भने । 

प्रदेश खेलकुद विकास परिषदको पछिल्लो बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै सम्पुर्ण तयारीलाई अघि बढाउने र सम्पुर्ण ३६ खेलमा खेलाडीलाई सहभागी गराउने निर्णय पनि गरेको छ । नवौं राष्ट्रिय खेलकुदमा सरकारले ३६ खेलमा प्रतिस्पर्धा गराउने भएको छ । सोही अनुसार बागमती प्रदेशले सबै खेलमा खेलाडीलाई उतार्ने औपचारिक निर्णय गरेको हो । 

बागमती प्रदेश सरकारले नवौंको तयारीका लागि भन्दै चालू आर्थिक वर्षका लागि बजेट समेत घोषणा गरेको थियो । सोही अनुसार नवौंको तयारीलाई अघि बढाउन प्रदेश खेलकुदलाई सहज भएको छ ।

प्रदेश सरकारले नवौंको तयारीका लागि जिल्ला छनोटमा १ करोड ३० लाख, प्रदेश छनोटमा ५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौंको तयारीका लागि भन्दै प्रत्येक प्रदेशलाई ४९ लाख रुपैयाँ बजेट दिने निर्णय गरिसकेको छ । ‘नवौंका लागि बजेटमै कार्यक्रम आएपछि तयारी अघि बढाउन सहज भएको छ । प्रदेशले दिएको बजेट अनुसार नवौंका लागि राम्रो तयारीसँग अघि बढाउन सकिन्छ ।’ भण्डारीले भने ।  

प्रदेश खेलकुद विकास परिषद बागमतीले नवौंको जिल्ला छनोट भदौ १० गतेभित्र र प्रदेश छनोट २० गतेभित्र सक्ने निर्णय गरेको छ । प्रदेश छनोट सकिएसँगै खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर नवौंको तयारीमा राख्ने जुटाउने प्रदेश सरकारको तयारी छ । 

गत आर्थिक वर्षमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गर्ने बागमती पहिलो र एकमात्र प्रदेश सरकार हो ।