२०८१ बैशाख १३, बिहीबार    

पिप्ले युवा क्लबलाई ५ लाख हस्तान्तरण

२०७९ पौष २६, मंगलबार १७:०७ बजे

मकवानपुर जिल्ला फुटबल संघले पिप्ले युवा क्लबलाई ५ लाख रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।

चौथो संस्करणको स्थानीय तह सहिद स्मृति राष्ट्रिय हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता पिप्लेक्याम्पा रंगशालामा गरेबापत् उक्त रकम प्रदान गरिएको हो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा प्रतियोगिता संयोजक प्रताप विष्टले क्लब अध्यक्ष सुशील घिमिरेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

गत जेठ १९ देखि ३० सम्म हेटौंडामा सम्पन्न प्रतियोगितामा करिब १ करोड ३१ लाख ५६ हजार आम्दानी भएकोमा १ करोड ९ लाख ६७ हजार रुपैयाँ खर्च भएको थियो । अध्यक्ष टीका लामाका अनुसार २१ लाख ३६ हजार रुपैयाँ बचत भएको छ भने २ लाख ५१ हजार रुपैया उठ्न बाँकी रहेछ ।

यसपालि फागुन पहिलो साताबाट यस प्रतियोगिता गर्ने तयारी भइरहेको छ । राष्ट्रियस्तरको ‘ए’ डिभिजन लिगअगाडि प्रतियोगिता गर्ने गरी अखिल नेपाल फुटबल संघ (एन्फा) समन्वय भइरहेको संघ अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार फागुन ४ देखि खेल सुरु गर्ने गरी मिति तय गर्न एन्फालाई आग्रह गरी पत्राचार गरिएको छ ।

प्रतियोगितामा आयोजकसहित १० टोलीको सहभागिता रहनेछ । आर्मी, पुलिस, एपीएफ, थ्रीस्टार, मनाङ मर्स्याङ्दी, चर्च ब्वाइज, मछिन्द्र, संकटा तथा मोफसलको एउटा टोली सहभागी हुने जनाइएको छ । ‘ए’ डिभिजन क्लब लिगको तयारीमा रहेका कारण यसवर्षको प्रतियोगिता झनै प्रतिस्पर्धात्मक हुने सम्भावना छ,’ लामाले भने ।