२०८१ बैशाख १६, आईतबार    

नारायणगढ–मुग्लिन सडकको उचित विकल्प खोजिनुपर्छ : सभापति बानियाँ

२०८० असार १८, सोमबार १७:०५ बजे

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् बागमती प्रदेश सांसद ईन्द्र बहादुर बानियाँले नारायणगढ–मुग्लिन सडकको विकल्प खोज्नुपर्ने बताएका छन् ।

पहिराका कारण बेलाबखत ठप्प भइरहने नारायणगढ–मुग्लिन राजमार्गका कारण वर्षेनि ठूलो मात्रामा यात्रु अलपत्र पर्ने गरेको र यसले भारत तथा तेस्रो मुलुकबाट हुने  आयात–निर्यातमा समेत प्रभाव पारेको उनको भनाई छ ।

 

‘नारायणगढ–मुग्लिन राजमार्गको अन्य विकल्प नहुँदा जोखिम मोलेरै भएपनि यात्रा गर्नुपर्ने बाध्यता छ । तसर्थ मानविय क्षति बेहोर्नुअगावै यसको उचित विकल्प खोजिनुपर्छ’, उनले भने ।

भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात हुने सबैभन्दा उपयुक्त र महत्वपूर्ण नाका भनेकै वीरगंज–रक्सौल नाका भएकाले यसको विकल्पमा मकवानपुरको मनहरीबाट परेवाभीर–कैलाश–डाँडाखर्क–मलेखु खण्डलाई थोरै खर्चमा स्तरीकरण गर्न सकिने उनको भनाई छ ।

‘यसले काठमाडोँको दूरीलाई छोटो गराउनुका साथै पेट्रोलियमको व्यापार घाटालाई समेत कम गर्ने उनको भनाई छ । उक्त क्षेत्रमा चेपाङ बस्ती पनि भएको र फास्ट ट्रयाकको लाभ उनीहरुलाई पनि मिल्ने बानियाले बताए ।

‘मकवानपुरको मनहरीबाट सडक स्तरीकरण गर्न सकेमा थोरै खर्चमा नै हामी सडक विस्तारसंगै त्यहाँका गरिब, विपन्न तथा पिछडिएका चेपाङ बस्तीको जीवनशैलीमा समेत परिवर्तन ल्याउन सक्छौँ’, उनले सुनाए ।