२०८१ बैशाख १६, आईतबार    

हेटौंडा बजार भत्काउने पक्षमा मन्त्री ज्वाला

२०८० श्रावण १५, सोमबार १३:११ बजे

पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडाको राप्तीपुलदेखि पथलैयासम्मको सडक दायाँबायाँ २५ मिटर सडक विस्तार कार्य यसै हप्ताबाट सुरु हुँदैछ ।

सडक डिभिजन कार्यालय मकवानपुरले जारी गरेको सूचनाको समय सीमा साउन १६ गतेबाट सकिँदैछ । कार्यालयले सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको सडकको सीमांकन गरेको स्थान खाली गर्न सूचना र माइकिङ दुवै गरिसकेको छ । हेटौंडा बजार क्षेत्रका व्यवसायीको उचित व्यवस्थापन र घरधनीलाई क्षतिपूर्ति र मुआब्जाको माग राख्दै आन्दोलन समेत भइरहेको छ ।

वाग्मती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रका सडक विस्तारको विषयमा मकवानपुरबाट निर्वाचित सांसद र हेटौंडा व्यवसायीको टोलीले संघीय सरकारको भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासंग आइतबार भेटघाट गरेका छन् ।

भेटघाटको क्रममा व्यवसायीले क्षतिपूर्ति र मुआब्जाको विषयमा कुरा गरेपनि उनले ठोस जवाफ भने दिएनन् । उनले आफू सडक विस्तारको पक्षमा रहेकोभन्दै आलटाल जवाफ दिएको कार्यक्रममा सहभागी एक व्यवसायीले भने ।

उनले आफ्नो मन्त्रालयको सचिव वैदेशिक भ्रमणबाट भर्खरैमात्र फर्किएको र आज सोमबार प्रतिनिधिसभाको वैठकपश्चात् छलफल गर्ने भनेर सांसद र व्यवसायीको टोलीलाई फिर्ता पठाएका छन् ।

प्रतिनिधिसभाको वैठक आजै दिउँसो १ बजे रहेको छ । सडक विस्तारको छलफल वैठकपश्चात् हुने भनेपनि अझै अनिश्चित रहेको छ । उनले सडक विस्तारको कामबाट पछाडि नहट्ने संकेत गरेको सहभागीहरुले बताएका छन् ।