२०८१ जेठ ८, मंगलबार    

१३ जिल्लाका खेलकुद अध्यक्ष पदमुक्त, गठबन्धनबाट नियुक्त गरिने

२०७८ फाल्गुन ७, शनिबार १७:३१ बजे

वाग्मती प्रदेशका जिल्ला खेलकुद विकास समिति अध्यक्षहरु पदमुक्त भएका छन् । विहीबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास नियमावली संशोधन गरी जिल्ला अध्यक्षहरुको पदावधि दुईवर्ष कायम गरेसँगै उनीहरु स्वत: पद मुक्त भएका हुन् ।

केन्द्र सरकारको सिको गर्दै वाग्मती सरकारले हतारोमा आवश्यक ऐन, कानुन र नियमावली विनै जिल्ला अध्यक्षहरु २०७६ माघ २२ गते नियुक्त गरेको थियो । आवश्यक कानुन र नियमावलीको अभावमा जिल्ला अध्यक्षहरु वेरोजगार जस्तै बनेका थिए । उनीहरुले धेरै पटक आवश्यक नियमावली र अधिकार मागेपनि प्रदेश सरकारले वेवास्ता गर्दै आइरहेको थियो ।

‘अब जिल्ला खेलकुद समितिका अध्यक्षको कार्यकाल दुईवर्षको हुनेछ । यसअघि समय तोकिएको थिएन । मन्त्रिपरिषद्को वैठकबाट समय तोकिएसँगै नयाँ अध्यक्ष नियुक्त गर्न बाटो खुलेको छ ।’, प्रदेश खेलकुद विकास परिषद् सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार नियमावली संशोधन भएसँगै यसअघि नियुक्त भएका अध्यक्षहरुको कार्यकाल माघ २२ गते सकिएको छ । मन्त्रालयले केहिदिनमै प्रत्येक जिल्लामा अध्यक्ष नियुक्त गर्ने तयारी गरेको उनले जानकारी दिए ।

अघिल्लो सरकारले माओवादीका ७ र एमालेका ६ जनालाई अध्यक्षमा नियुक्त गरेको थियो । जिल्ला खेलकुद विकास समिति ५ सदस्यीय हुने व्यवस्था रहेको छ । हाल गठबन्धनमा रहेको दलबाटै जिल्ला अध्यक्ष चयन गर्ने उनले बताए । वाग्मती प्रदेशभर प्रदेश खेलकुदको तयारी तीब्ररुपमा अगाडि बढेका कारण पनि छिट्टोभन्दा छिट्टो अध्यक्ष नियुक्त गर्न युवा तथा खेलकुद मन्त्री रत्न ढकाललाई दबाब परेको छ ।