२०८० चैत्र १६, शुक्रबार    

डेंगु नियन्त्रण गर्न हेटौंडामा ‘लार्भा नष्ट’ अभियान तीब्र

२०७९ भाद्र २०, सोमबार १६:१० बजे

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा फैलिएको डेंगु संक्रमण नियन्त्रण गर्न ‘लार्भा नष्ट’ अभियानलाई तीब्र पारिएको छ । डेंगु संक्रमण दर बढ्दै गएपछि उपमहानगरले हेटौंडाका सबै वडामा अध्यक्षको नेतृत्व र स्वास्थ्यकर्मीसहित सरोकारवालाको अगुवाइमा अभियान सुरु गरिएको थियो ।

विशेष गरी हेटौंडा बजार क्षेत्रमा डेंगु संक्रमण बढ्दै गए पछि उपमहानगरपालिकाले सुरु गरेको अभियानमा विभिन्न संघसंस्था, प्रहरी तथा युवाहरुले सक्रियतापूर्वक सहभागिता जनाएका छन् । उपमहानगरले चारदिनसम्म स्वास्थ्य कार्यालय मकवानपुरसँगको समन्वयमा अभियान सुरु गरेको हो । नगरमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने र आवश्यकता अनुसार स्प्रे छर्ने अभियान सुरु गरिएको हेटौडा उपमहानगरपालिकाकी मेयर मीना लामाले जानकारी दिइन् ।

गत आर्थिक वर्ष २०७८/७९ मा १ सय ९५ जना डेंगुको संक्रमणमा रहे पनि चालु आर्थिक वर्षको एक महिनाको अवधिमा ५ सय ५८ जना संक्रमित देखिनुले अवस्था डरलाग्दो भएको मेयर लामाको भनाइ छ । चालु आवको संक्रमण दर अनुसार हेटौंडा–४ मा २ सय ७६ र हेटौंडा–५ मा ७६ जनामा डेंगु संक्रमण भएका छन् । हेटौंडा उपमहानगर बाहिर हालसम्म न्यून दरमा डेंगु संक्रमित भेटिएका छन् ।

विशेष गरी हेटौंडा–४ मा डेंगुका बिरामी उपचार पछि निको भए पनि दोहोरीएर संक्रमण भएको तथ्यांक फेला परेको छ । डेंगु संक्रमण फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने तथा लार्भा बनाउने भएकोले सफा पानी जम्ने सवारी साधनका टायर, गमला, पानी जम्ने ठाउँ पहिचान गरी लामखुट्टे नष्ट गर्न स्प्रे गरिने तथा जनचेतना समेत फैलाउन सूचना प्रभाव गर्ने कार्य गरिएको छ । हेटौडा ४ क्षेत्रका मोटर ग्यारेज तथा मोटरसाइकल मर्मत केन्द्रहरुमा रहेका प्रयोग नआउने टायरहरु नष्ट गरिएको छ ।

विशेष गरी हेटौंडा–४ र ५ मा सवारी साधन बनाउने ग्यारेजहरु धेरै रहेको तथा जनघनत्व समेत बढी भएको कारण यहाँ बढी संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । डेंगुको कारण हालसम्म मकवानपुरमा कसैको पनि ज्यान नगएको तर अस्पताल र मेडिकलहरुमा डेंगु बिरामीको चाप बढेकोले उपचारमा समस्या हुँदै गएको उनले जानकारी दिए ।