२०८१ बैशाख १७, सोमबार    

लागूऔषध प्रयोगको अवस्था विकराल : डीआईजी बज्राचार्य

२०७९ श्रावण १९, बिहीबार १५:१५ बजे

प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण बज्राचार्यले लागूऔषधको बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गरेकी छन् ।

विहीबार हेटौंडामा सञ्चारकर्मीसँग भेटघाट गर्दै वाग्मती प्रदेश प्रहरी प्रमुख समेत रहेकी बज्राचार्यले लागूऔषधको विक्रीवितरण, उत्पादन र सेवनको अवस्था विकराल बन्दै गएकोभन्दै चिन्ता व्यक्त गरेकी हुन् । ‘लागूऔषध ओसारपसार र प्रयोगको हिसावले मकवानपुर देशमै कहलिएको नाम हो । हामी सवै मिलेर यो समस्यालाई न्यूनीकरण गर्न जरुरी रहेको छ । त्यसका लागि स्थानीय तह र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्न हामी तयार छौं ।’, उनले भनिन् ।

उनले भारतबाट लागूऔषध भित्रिने दर बढिरहेको र गाउँगाउँमा गाँजाको र अफिम उत्पादन पनि बढेकोभन्दै यसलाई रोक्न जरुरी रहेको बताइन् । ‘हामीले वर्षेनी फडानी अभियान सञ्चालन गरिरहेका छौं । तर, अझै उत्पादन घटेको छैन ।’, उनले भनिन् । उनले यसलाई नियन्त्रण गर्न सवैक्षेत्रले संयु्क्तरुपमा पहल गरेर जागरुक हुन जरुरी रहेको बताइन् ।

उनले अपराधको स्वरुप बढिरहेकोभन्दै प्रहरीको क्षमता वृद्धि गर्न जरुरी रहेको औंल्याइन् । ‘प्रविधिबाट ठगी गर्ने क्रम बढेको छ । त्यसका लागि हामीले आवश्यक जनशक्ति उत्पादन गर्न प्रहरीको क्षमता वृद्धि गर्न जरुरी रहेको छ ।’, उनले प्रहरीलाई प्रविधी मैत्री बनाइने बताए । उनले प्रहरीले जुवातास, मिटरव्याजको सन्दर्भमा शून्य सहनशिलता जरुरी रहेको बताइन् ।
प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता दीपक रेग्मीले अपराधको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । उनले बढ्दो घरेलुहिंसा, आत्महत्या, दुर्घटना न्यूनीकरण गर्नु प्रहरी सामू रहेको अहिलेका ठूलो चुनौती रहेको औंल्याए ।