२०८० चैत्र १६, शुक्रबार    

हेटौँडामा डेङ्गु महामारी : भएन नियन्त्रण र उपचार प्रभावकारी

२०७९ आश्विन १४, शुक्रबार १३:५२ बजे

बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा डेङ्गु रोग सङ्क्रमणले महामारीको रूप लिएको छ । डेङ्गु रोग सङ्क्रमण महामारीका रूपमा फैलिए पनि यसको नियन्त्रण, रोकथाम र उपचार प्रभावकारी भएको पाइएको छैन ।

लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको उपचार र औषधि नभए पनि डेङ्गु सङ्क्रमण रोकथाम र नियन्त्रण चैतबाट सुरु गर्नुपर्नेमा हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भदौबाट सुरु गर्दा महामारीको रूपमा फैलिएको हो । गत २४ घण्टामा मकवानपुरमा ११२ जना डेङ्गुका सङ्क्रमित थपिएकामा तीमध्ये ९४ जना हेटौँडा उपमहानगरपालिका क्षेत्रका छन् ।

मकवानपुर जिल्लामा बिहीबारसम्ममा दुई हजार ८७६ जनामा डेङ्गु सङ्क्रमण भएकोमा तीमध्ये हेटौँडा उपमहानगरपालिकाका दुई हजार ५५३ जना भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकापछि मनहरी गाउँपालिकामा १४२ जनामा डेङ्गु सङ्क्रमण भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । बागमती प्रदेशमा डेङ्गु सङ्क्रमणबाट १८ जनाको मृत्यु भएकामा तीमध्ये एक जना हेटौँडा उपमहानगरपालिकाका छन् । 

डेङ्गु सङ्क्रमितले हेटौँडा अस्पतालसहित निजी अस्पताल र मेडिकलहरूका शøयाहरू भरिएका छन् । हेटौँडा अस्पतालमा उपचारका लागि श-या अभाव भएपछि बाहिरी जिल्ला वा हेटौँडाकै निजी अस्पताल र मेडिकलहरूमा महँगो शुल्क तिरेर उपचार गर्न डेङ्गु सङ्क्रमितहरू बाध्य छन् । 

हेटौँडा अस्पतालमा मात्र डेङ्गु सङ्क्रमण भएका दैनिक एक सय जना उपचारका लागि आउने गरेका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार यहाँ उपचार हुन नसक्ने डेङ्गु सङ्क्रमितलाई उपचारका लागि अन्यत्र पठाइने गरेको छ ।

बिहीबार २५ जना डेङ्गु सङ्क्रमित उपचार गरिरहेको हेटौँडा अस्पतालमा डेङ्गु सङ्क्रमणको महामारी फैलिएसँगै उपचारका लागि शøया अभाव भएको छ । डेङ्गु सङ्क्रमित मात्र नभएर अस्पतालले अन्य बिरामीको समेत भर्ना र उपचार गर्नुपर्ने भएकाले शøया अभाव भएको अस्पताल व्यवस्थापनले बताएको छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि भएकाले उपचारका लागि शøया अभाव भएको अस्पतालको भनाइ छ ।

असोजको मध्य समय आइपुग्दासमेत हेटौँडामा डेङ्गु सङ्क्रमण महामारी नियन्त्रणमा नआउनुले तीनै तहको सरकारको डेङ्गु सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारमा प्रभावकारी नीति, योजना र कार्यक्रमको अभाव भएको पुष्टि हुन्छ ।