२०८१ बैशाख २४, सोमबार    

प्रहरी सेवाका तीन कुकुर सेवानिवृत्त

२०८० भाद्र २८, बिहीबार १९:०५ बजे

निजामती कर्मचारी, प्रहरी र सैनिक मात्र होइन कुकुर पनि सेवानिवृत्त हुने नियम छ । सरकारी कर्मचारीले ५८ वर्ष पुगेपछि सेवावाट अवकाश पाउँछन् । कुकुरको क्षमतामा ह्रास आएपछि सेवाबाट हटाउने गरिएको छ । कुकुरको उमेरहद तोकिएको हुँदैन, क्षमताको आधारमा सेवामा राख्ने वा निवृत्त गर्ने गरिन्छ । सेवानिवृत्त भएपछि पालनपोषणको जिम्मेवारी सम्बन्धित संघसंगठनको नै हुन्छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा के-नाइन शाखामा विगत ९ वर्षदेखि प्रहरी सेवामा रहेका तीन कुकुर बुधबारबाट सेवानिवृत्त भएका छन् । लागूऔषध, विस्फोटक पदार्थ, हत्यासम्बन्धी अनुसन्धान गर्दै आएका शेरे, टाइगर र जोन नामका कुकुर सेवाबाट निवृत्त भएको वाग्मती प्रदेश प्रहरी कार्यालयका एसपी दीपक रेग्मी बताए ।

तीन कुकुर प्रहरी सेवा पूरा गरी प्रहरीका कुकुरहरूको विषयगत संख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्तसम्बन्धी कार्यनिर्देशन-२०८० बमोजिम सेवानिवृत्त भएका हुन् । जोन र शेरेले आफ्नो सेवा अवधिमा १ हजार २ सयपटक लागूऔषध खोजी गरी विभिन्न समयमा सफलता हासिल गरेका थिए भने टाइगरले सुरक्षाका लागि ७ सय पटक विशिष्ट व्यक्तिहरूको समारोह स्थल, बाटो, संसद भवन लगायत विभिन्न स्थानमा चेकजाँच गरी आफ्नो जिम्मेवारी निर्वाह गरेको थियो ।

गत मंसिर २५ मा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेमा २८ वर्षीया महिलालाई घरमा हत्या गरेर बारीमा गाडेको अवस्थामा सेरे र जोनले अपराधी पत्ता लगाएका थिए। यसैगरी गत चैतमा रामेछाप गोकुलगंगा गापा-४ वेताली लेसेखानीमा खुकुरी प्रहारबाट ८२ वर्षीय शमशेर बहादुरको हत्या भएको थियो । उक्त घटनाको अपराधी पत्ता लगाउन यिनै कुकुरले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

वाग्मती प्रदेशअन्तर्गत जिल्लाहरूमा भएका जघन्य प्रकृतिका शंकास्पद घटनाहरूमा अपराधीको पहिचान गरी अनुसन्धान गर्नमा कुकुरहरूको उत्कृष्ट भूमिका रहेको एसपी रेग्मीले बताए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सेवानिवृत्त तीन कुकुरलाई संगठनबाट प्राप्त हुने रासन कट्टी हुने छ । प्रहरी सेवामा रहेका कुकुरले दैनिक रासन १ सय ५० रुपैयाँ बराबरको ‘डग फुड’ पाउने गर्छन्। अवकाशप्राप्त यी तीन कुकुर उमेरले ९ वर्षका मात्र भए । सामान्यतया कुकुरको उमेर १५ वर्षको हुने गर्छ । यी कुकुरलाई जन्मेको ६ महिनामा तालिम दिने गरिन्छ । तालिम अवधि चार महिनादेखि १० महिनासम्मको हुन्छ ।

'क्षमताको आधारमा तालिमको समय तोकिन्छ,' प्रहरी प्रवक्तासमेत रहेका एसपी रेग्मीले भने, ‘तालिम प्राप्त गरी प्रहरी सेवामा रहेका कुकुरहरुलाई करिब ९ वर्ष पुगेपछि उसले गर्ने कामको टेक्निकल टिमले पहिचान गर्छन् । उसले प्राक्टिकलमा कति नम्बर ल्याउँछ भनेर रिपोर्ट र नम्बरिङ गर्छ । अलि टाढा पुग्न नसकेमा, सुँघ्न नसकेमा फेल हुन्छन् र सेवाबाट हटाइन्छ ।’

सेवानिवृत्त कुकुरहरूले प्रहरीका लागि काम गर्न नसके पनि दुई-चारवर्ष घरमा गार्डको काम गर्न सक्ने उनको भनाइ छ । ती कुकुरहरूलाई कसैले माग गर्न र निवेदन दिन आएमा भरपाई गरेर लैजान सकिने छ । यदि कसैले नलगेमा भने उसले पाउनुपर्ने रासन खुवाएर प्रहरी कार्यालयमा नै राख्ने गरिन्छ । प्रहरी सेवाबाट अवकाशप्राप्त कुकुरलाई इच्छाअनुसार क्रमशः सम्बन्धित दाता, बहालवाला प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी र सर्वसाधारणलाई प्राथमिकताका आधार दिन सकिने पनि नियम छ । कुनै पनि कार्यालय वा व्यक्तिले स्वीकार गर्न नचाहेमा त्यस्ता कुकुर जीवित भएसम्म रासन, आवास र औषधोपचारको व्यवस्था सम्बन्धित प्रहरी कार्यालयले नै गर्नुपर्ने व्यवस्था छ ।

वाग्मती प्रदेश प्रहरीमातहत अहिले ६ वटा कुकुर छन् । तीमध्ये ४ वटा प्रहरी सेवाका कार्यरत छन् भने २ वटाले तालिम लिइरहेका छन् । सेवानिवृत्त भएका र कार्यरत कुकुर काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयबाट ल्याइएको हो ।