२०८१ बैशाख २०, बिहीबार    

मनहरीबाट दुई जनाको ज्यान लिने बाघलाई यसरी लिइयो नियन्त्रणमा

२०८० मंसिर ११, सोमबार १४:०६ बजे

मकवानपुरमा दुई जनाको ज्यान लिएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको टोलीले हिजो साँझ ८ः४५ को समयमा लोथर मध्यवर्ती सामुदायिक वन स्थित लोथर र राप्ती नदीको दोभान क्षेत्रबाट डार्ट गरी नियन्त्रणमा लिएको हो ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ बाट अन्दाजी १० वर्षको पोथी बाघ नियन्त्रणमा लिएर कसरामा ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

शुक्रबार र आइतबार बाघले आक्रमण गरेर ज्यान लिएको दुई वटा शव फेला परेको थियो। सो स्थानमा शुक्रबार चितवनको राप्ती नगरपालिका १ दुवीचौरका ४३ वर्षीय हरि पौडेलको शव फेला परेको थियो ।

आइतबार बाघ नियन्त्रणमा लिने क्रममा अर्का पुरुषको समेत शव फेला परेको तिवारीले जानकारी दिए। तर ती पुरुषको पहिचान हुन सकेको छैन। उनको कम्मरदेखि माथिको भाग बाघले खाइसकेको तिवारीले बताए ।

बाघ नियन्त्रणमा लिनका लागि चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, हात्तीसारका कर्मचारी र हात्ती, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्राविधिक लोथर मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधि र जनप्रतिनिधि खटिएका थिए ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा यस आर्थिक वर्ष बाघको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। सोही संख्यामा बाघलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिएका बाघ यहाँ राख्ने ठाउँ नभएर पर्सा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ ।

आइतबार नियन्त्रणमा लिइएको बाघलाई कहाँ पठाउने भन्ने यकिन नभएको तिवारीले जानकारी दिए। कसरामा चार र सौराहामा विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका दुई बाघ राखिएको छ ।