२०८१ बैशाख ११, मंगलबार    

मुकारुङ्गलाई महालक्ष्मी साहित्य पुरस्कार

२०७९ असार २१, मंगलबार ११:४७ बजे

महालक्ष्मी साहित्य पुरस्कार २०७८ बाट श्रवण मुकारुङ्गलाई प्रदान गरिने भएको छ । मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकले संयुक्तरुपमा प्रदान गर्ने पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ । आगामी शुक्रबार हेटौंडामा एक समारोहको आयोजना गरी मुकारुङ्गलाई पुरस्कृत गरिने छ ।

मातृभूमि साहित्य समाजले सोमबार हेटौंडास्थित महालक्ष्मी विकास बैंकको शाखा कार्यालयमा पत्रकार सम्मेलन गरी पुरस्कारको घोषणा गरेको हो । तत्कालिन यति फाइनान्ससँगको सहकार्यमा मातृभूमि साहित्य समाज मकवानपुरले २०५९ सालदेखि पुरस्कार वितरण गर्न सुरु गरेको हो । मुकारुङ्गलाई सम्मान गर्ने कार्यक्रममा मकवानपुरका साहित्यकार किशन पौडेलको लघुकथा संग्रह ‘खुशी’ पनि विमोचन गर्ने कार्यक्रम रहेको मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलले जानकारी दिनुभएको छ । यस्तै पत्रकार राममणि दाहाललाई केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार–२०७८ प्रदान गरिने भएको छ ।

यसैबीच मातृभूमि साहित्य समाजले विभिन्न विधाका ६ वटा पुरस्कारको पनि घोषणा गरेको छ । श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार समाजसेवी सिद्धिलाल श्रेष्ठलाई, ईश्वरी स्मृति मातृभूमि पुरस्कार सुष्मा केसी श्रेष्ठलाई, हातेमालो मातृभूमि युवा सृजनशील सम्मान सुनिता बुर्लाकोटी लुइटेललाई प्रदान गर्ने घोषणा गरिएको छ । यस्तै शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान नीरा गोर्खाली र गोकुललाल श्रेष्ठलाई तथा झलक बानियाँ जीवन संघर्ष मातृभूमि सम्मान सृजना लोलाई प्रदान गर्ने घोषणा गरिएको छ । सवै पुरस्कार तथा सम्मानको राशी जनही १५ हजार रुपैयाँ रहेको छ । पुरस्कार तथा सम्मान आगामी शनिबार हेटौंडामा एक समारोहका बीच वितरण गरिनेछ ।