मकवानपुरबाट १४ किलो अवैध लागूऔषध चरेशसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ८ का ४२ वर्षका केदार तामाङ र सोही स्थानका ३६ वर्षका सुकमान तामाङ रहेका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–१५ मा प्रहरी चौकी रातोमाटे हेटौंडाको टोलीले चेकिङको क्रममा चरेशसहित दुईजनालाई पक्रेको हो । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.७ ख ६०६१ नम्बरको बसलाई चेकिङ गर्ने क्रममा उनीहरुले बोकेको झेला खानतलासी गर्दा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
शंकाको आधारमा झोला खानतलासी गर्दा चरेश फेला परेको उनले बताए । केदार र सुकमान दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी भण्डारीले बताए ।