२०८१ बैशाख १४, शुक्रबार    

आर्मी मकवानपुर गोल्डकपको फाइनलमा

२०७९ जेठ २८, शनिबार १९:५४ बजे

क्यामरुनी क्लब एभेनिर एफसी डोउलालाई सडन डेथमा पराजित गर्दै साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको सडन डेथमा आर्मीले एभेनिरलाई ११–१० ले पराजित गर्दै फाइनलमा स्थानिय टोली विजय युथ क्लबसँगको भेट पक्का गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको हो । टाइब्रेकरमा ३–३ गोलको बराबरीपछि खेल सडनडेथमा लम्विएको थियो ।

सडन डेथसम्ममा ११–११ जनाले पेनाल्टी प्रहार गर्दा ८–८ गोलको बराबरी भएको थियो । त्यसपछि आर्मीले तीनै पेनाल्टीमा गोल गर्दा एभेनिरको अन्तिम पेनाल्टी सदुपयोग हुन नसक्दा आर्मी विजेता बन्दै फाइनलमा पुग्न सफल भयो ।

टाइब्रेकरमा आर्मीका दीपक गुरुङ, सिमन्त थापा मगर र दिनेश हेन्जनले गोल गर्न सफल भए । कमल बहादुर थापाको प्रहार पोलमा लाग्दै बाहिरिदा सन्तोष केसीले गोल गर्न सकेनन् । सडन डेथमा युद्ध शाही, विकेश कुथु, सुरज बस्नेत, विमल पाण्डेय र भरत खवासले गोल गर्दा जितेन्द्र कार्कीले गोल गन सकेनन् । त्यसपछिको टाइब्रेकरमा दीपक गुरुङ, दिनेश हेन्जन र सिमन्त थापाले गोल गर्न सफल भए ।

त्यसअघि प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ४९औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा गोल खान पुगेको थियो । जिकाले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गर्दै एभेनिरको सम्भावना जीवितै राखेका थिए ।

अब विजय युथ र आर्मीबीचको उपाधि भिडन्त सोमबार हुनेछ । विजय युथले शुक्रबार विभागीय नेपाल पुलिसलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ । दोस्रो हुनेले १० लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल हात पार्नेछ । व्यक्तिगत विधाका उत्कृष्टले जनही २५ हजार ट्रफी प्राप्त गर्नेछ ।