२०८१ बैशाख ७, शुक्रबार    

मकवानपुरका ‘हेभिवेट’हरू एउटै चुनावी मैदानमा

२०७९ भाद्र २५, शनिबार १४:४९ बजे

मकवानपुरमा आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन रोचक हुने देखिएको छ ।

जिल्लामा दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभाको निर्वाचन क्षेत्र छ । आगामी निर्वाचनमा मकवानपुरको प्रतीनिधिसभा क्षेत्र न‍ं.१ मा जिल्लामा भएका ‘हेभिवेट’ नेताहरू भिड्ने सम्भावना देखिएको छ । यसअघिको निर्वाचनमा पटक पटक हार व्यहोर्दै आएका फरक फरक पार्टीका नेता एउटै निर्वाचन क्षेत्रबाट एक अर्काविरुद्ध चुनावी मैदानमा उत्रिन लागेका हुन् ।

मकवानपुरमा नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, राप्रपा नेपालको अध्यक्ष कमल थापा, नेकपा एमालेको केन्द्रीय सदस्य कृष्ण दाहाल, नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडा र राप्रपाको केन्द्रीय सदस्य दिपक सिंह लगायतका नेता हेभिवेट नेता हुन् ।

मकवानपुरको राजनीतिमा हेभिवेट बोकेका उनीहरू समाजवादीका खतिवडाबाहेक सबै क्षेत्र न‍ं.१ बाट चुनावी मैदानमा उत्रिन कम्मर कसेका छन् । यो निर्वाचन क्षेत्रमा अघिल्लो ३ वटा निर्वाचन एमालेका दाहालले लगातार जितेका छन् भने डिना,थापा र सिंह पटक–पटक निर्वाचन हार्दै आएका उम्मेदवार हुन् । एउटै निर्वाचन क्षेत्रबाट चुनाव जित्ने दौडमा रहेका उनीहरूको विगत यस्तो छ– 

विरोधसँग तीनपटक हारेकी डिना

डिनाले अर्थशास्त्रमा स्नातकोत्तर तह सम्म अध्ययन अध्ययन गरिकी छन्। स्वतन्त्र विद्यार्थी युनीयन पद्मकन्या क्याम्पसकी पूर्व सभापति भइसकेकी महालक्ष्मी विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी १४ औ महाधिवेशनमा देउवा प्यानलबाट नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएकी हुन्।

उनी संविधान सभा निर्वाचन अगाडिसम्म जलस्रोत राज्यमन्त्री थिइन् । २०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी उनी हाल तत्कालीन समयमा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भइन्। यो निर्वाचनमा खतिवडाले १६ हजार ८६९ मत ल्याएर डिनालाई पराजित गरेका थिए। त्यतिबेला डिनाले ११ हजार ५७६ मत पाएकी थिइन् । 

२०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी खतिवडासँगै पराजित भइन्। उक्त निर्वाचनमा खतिवडा १६ हजार १४४ मत पाएर निर्वाचित भएका थिए भने डिनाले ३ हजार ७९२ मत पाएर तेस्रो भइन्। त्यतिबेला राप्रपा अध्यक्ष थापा ११ हजार ८७८ मत ल्याएर दोस्रो भएका थिए। २०५६ मा भएको आमनिर्वाचनमा उनी उम्मेदवार बनिनन्। त्यतिबेला क्षेत्र न‌ं.२ बाट कांग्रेसका रामचन्द्र अर्याल ‘माइकल’ उम्मेदवार बनेका थिए। तर,उनी पनि खतिवडासँगै पराजित भए।

२०७४ सालमा भएको निर्वाचनमा पनि डिना पुनः एकपटक खतिवडासँगै पराजित हुन पुगिन्। हालसम्मको राजनीतिक जीवनमा कांग्रेस पार्टीभित्र राम्रो स्थान बनाए पनि उनले जनताबाट प्रत्यक्ष अनुमोदित हुने अवसर भने पाएकी छैनन्। २०७४ को निर्वाचनमा उनले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन् भने खतिवडा ४६ हजार ४८१ मतका साथ निर्वाचित भएका थिए। उठेको जति निर्वाचन लगभग हारेकी डीनालाई यो पटक गठबन्धनको आड छ। तर,पनि उनी ढुक्क हुनसक्ने अवस्था भने छैन। एकातीर लगातार जित्दै आएका एमालेका दाहालसँगको प्रतिस्पर्धा र अर्कोतर्फ पार्टीभित्रैको किचलोले उनलाई अप्ठ्यारो पार्ने देखिन्छ। 

सधैँ चुनाव हार्ने कमल थापा

मकवानपुर स्थायी घर भएका थापा पटक–पटक सिंहदरबारको वरिपरि घुमिरहे तर, पनि उनले चुनाव जितेको  अनुभव पनि धेरैपटक गर्न पाएका छैनन्। राजा हुन् या राजनीतिक दलको सरकार, उनले दुवै कालमा सिंहदरबारको स्वाद चाखेका छन्। तर, पनि जनताको मत पाएर जितको स्वाद भने धेरै पटकभन्दा बढी चाख्न पाएका छैनन्। 

उनी २०३७ सालमै पञ्चायती संविधानको संशोधनका लागि गठन भएको मस्यौदा समितिको सदस्यसमेत बने। पछि २०४६ मा सञ्चार राज्यमन्त्री बनेका उनले पञ्चायतविरुद्धको आन्दोलत दबाउन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी, गृह राज्यमन्त्री निरञ्जन थापासँग मिलेर आन्दोलनविरुद्ध चार खम्बा बनेर उभिएका थिए। प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचन २०४८ मा पराजित भएका थापाले २०५१ को मध्यावधि चुनावमा भने जित हात पारे।

२०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा समेत गरी थापा २०५१ यता ९ पटक मन्त्री बनिसकेका छन्। तर, पटक–पटक विभिन्न मन्त्रालय सम्हालेका उनलाई जनताले अनुमोदन भने गरेका छैनन्। २०४८ को आम निर्वाचनमा मकवानपुर–१ मा थापालाई एमालेका कृष्ण दाहालले पराजित गरेका थिए। ०५१ को मध्यावधि चुनावमा थापाले त्यसको बदला लिए। तर, मकवानपुर २ बाट पनि उठेका उनलाई तत्कालीन एमालेका विरोध खतिवडाले पराजित गरे। २०५६ मा थापा मकवानपुर–१ मा दाहालसँग पराजित भए। त्यसबेला दाहालले २० हजार ४४२ मत पाउँदा थापाले १५ हजार ९८५ मत प्राप्त गरेका थिए।

मकवानपुर–३ बाट पनि उम्मेदवारी दिएका उनी त्यहाँ पनि एमालेका वीरबहादुर लामासँग दुई हजार मतान्तरले पराजित भए। त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर ३ (पछि क्षेत्र २ मा गाभिएको) बाट उम्मेदवार बनेका थापा तेस्रो भए। २०७० को संविधानसभा निर्वाचनमा भने थापा प्रतिस्पर्धामा उत्रिएनन्।

श्रीमती प्रमिला थापालाई मकवानपुर–१ बाट उम्मेदवार बनाएर आफू समानुपातिकमा बसे। समानुपातिकबाट सांसद भएर मन्त्री बनेका उनी ओली, दाहाल र देउवा तीनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने। त्यसपछि २०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर १ मै उम्मेदवारी दिए। थापाका प्रतिस्पर्धी थिए, उनै तीनपटक प्रतिस्पर्धा गरेका दाहाल। तर उक्त निर्वाचनमा पनि थापा पराजित भए। कांग्रेस–राप्रपाको गठबन्धनलाई माओवादी–एमाले गठबन्धका दाहालले करिब ६ हजार मतान्तरले थापालाई पराजित गरे। दाहालले ४० हजार ६३१ मत पाउँदा थापाले ३४ हजार ६३५ मत ल्याएका थिए।

चुनाव हार्न रेकर्ड नै राखेका थापा आगामी निर्वाचन जीवनको अन्तिम निर्वाचन भएको बताउँछन्। उनले मंसिर ४ मा भएको निर्वाचन आफ्नो जीवनको अन्तिम निर्वाचन हुने भन्दै जित्ने इच्छा व्यक्त गरेका छन्।  तर एक्लै कुनैपनि हालतमा चुनाव जित्न सम्भव नभएकोले थापा एमालेको साथ मागिरहेका छन्। राप्रपा र राजतन्त्र त्यागेर राप्रपा नेपाल ब्युँताएका उनलाई आगामी निर्वाचन जित्न सानो कसरतले पुग्दैन। 

तीन पटकका विजेता दाहाल

नेकपा एमालेको केन्द्रिय सदस्य कृष्णप्रसाद दाहाल हालसम्म चार पटक चुनावी मैदान होमिसकेका छन्। तीनपटक जीतको स्वाद चाखेका उनले एकपटक हार व्यहोरेका छन्। २०४८ सालको आम निर्वाचनमा मकवानपुर १ मा एमालेका दाहालले राप्रपाको कमल थापालाई करिब पाँच हजार मतान्तरले पराजित गरेका थिए। दाहालले १४ हजार १८४ मत पाउँदा थापा ९ हजार ८२५ मतका साथ दोस्रो भए। २०५१ को मध्यावधि निर्वाचनमा भने परिणाम उल्टियो। कमल थापाले १६ हजार ७५३ मत पाएर सांसद जित्दा दाहाल १५ हजार ८२ मतका साथ दोस्रो भए। २०५६ को आम निर्वाचनमा फेरि परिणाम उल्टियो।

कमल थापालाई कृष्णप्रसाद दाहालले करिब पाँच हजार मतान्तरमै पराजित गरे। दाहालले २० हाजर ४४२ मत पाउँदा थापाले १५ हजार ९८५ मत पाए। २०७४ सालमा भएको अघिल्लो निर्वाचनमा पनि दाहाल मकवानपुर–१ बाट निर्वाचित भए। तेस्रोपटक पनि उनले राप्रपाको कमल थापालाई नै पराजित गरेका थिए। आगामी निर्वाचनको लागि पनि एमालेले उनलाई मकवानपुर–१ बाट पुनः सिफारिस गरेको छ।

तर,उनी निकट स्रोतको अनुसार दाहाल यो पटक चुनावी मैदानमा होमिन दोधारमा छन्। गएको स्थानीय तहको निर्वाचनमा जिल्लाको दुई स्थानीय तहबाहेक अन्य स्थानीय तहको नेतृत्वमा गठबन्धनले ‘क्लिन स्विप’ गरेपछि दाहाल आगामी निर्वाचनमा विश्राम लिने मुडमा पनि पुगेको स्रोतको दावी छ। उनीसँगै चारजना सिफारिस भएको भए पनि यो क्षेत्रको लागि दाहाल नै बलियो दाबेदार र उम्मेदवार हुन्। 

स्थानीय निर्वाचनमा गर्जेका सिंह

राप्रपा मकवानपुरले ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पार्टीको केन्द्रीय सदस्य दिपकबहादुर सिंहलाई मकवानपुर क्षेत्र नम्बर १ को उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीले सिंहलाई मकवानपुर क्षेत्र नम्बर १ का लागि एकल  सिफारिस गरेपछि सिंहको गर्जन अब प्रतिनिधिसभा निर्वाचनमा हुने भएको छ। २०४६ को बहुदलअघि राप्रपा मकवानपुरको पहिलो पार्टीको रूपमा रहेको थियो। बहुदल स्थापनापछि कम्युनिष्टहरूको प्रभाव बढ्दै जाँदा राप्रपा कमजोर बन्दै गयो। त्यसयता मकवानपुरमा राप्रपाले आफ्नो उपस्थिति खासै राम्रोसँग देखाउन सकेको थिएन।

संस्थापन कालदेखि नै राप्रपामा रहेर पार्टी हितका लागि थुप्रै संगठनमा सक्रिय रहेका सिंहले २०५४ सालमा हेटौंडा उपमहानगरपालिकाको मेयरका राप्रपाको तर्फबाट उम्मेदवार रहेका थिए। त्यसबेला उनी प्रत्यासी डोरमणि पौडेलसँग ६०० मतान्तरले पराजित भए। त्यसपछि २०५६ सालमा प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. १ मा उम्मेदवारी दिएका सिंहले तत्कालीन एमालेका उम्मेदवार रहेका विरोध खतिवडासँग १५ सय मतान्तरले हार व्यहोरे। त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा उनी नेकपा एमालेका अनन्त पौडेलसँग दुई हजार मतान्तरले पराजित भए।

गएको ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार सिंह थोरै मतान्तरले मात्रै पराजित भएका थिए। पराजित भएपनि गत स्थानीय तहको निर्वाचनमा हेटौंडामा उनले एउटा गर्जन भने छाडेका छन्। विद्यालय जीवनदेखिको साथी ,राजनीतिक जीवनको सहकर्मी तथा राप्रपा अध्यक्ष कमल थापाले राप्रपा त्यागेको अवस्था उनले पाएको मतले हेटौंडा मात्रै होइन देशकै ध्यान तान्यो।

सानो पार्टीबाट उम्मदवार बनेका उनले हेटौंडा लालकिल्लाको रुपमा रहेको एमालेलाई पछि पार्दै दोस्रो बनेका थिए। पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेकी मीना लामासँग उनको जीतको दूरीसमेत थोरै थियो। सिंह गठबन्धनकी उम्मेदवार लामासँग २५ सय मतान्तरले पारजित भए। यो पराजयसँगै चार पटकको निर्वाचनमा पराजित भएका उनी पाँचौँपटक मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ बाट राप्रपाका तर्फबाट एकल सिफारिसमा परेका छन्।