२०८० चैत्र १५, बिहीबार    

वाग्मतीका ८ मन्त्री चुनावी मैदानमा

२०७९ आश्विन २९, शनिबार १५:२२ बजे

मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चहलपहल सुरु भइसकेको छ । २०७४ सालबाट अभ्यासमा आएको प्रदेश संरचना क्रमशः बलियो र परिपक्व बन्ने क्रममा छ । प्रभावशाली र स्थायी हुन नसकेको भन्दै प्रादेशिक संरचना नै खारेज गर्नुपर्ने तर्क विभिन्न कोणबाट उठिरहेकै छ ।

तर, दोस्रो पटक हुँदै गरेको प्रदेशसभा सदस्य निर्वाचनमा परेको उम्मेदवारीले यसप्रतिको आकर्षण र आवश्यकताको बोध गराएको विश्लेषण भइरहेको छ ।

वाग्मती प्रदेशमा हाल १८ सदस्यीय मन्त्रिमण्डल छ । जसमध्ये आसन्न निर्वाचनमा ८ मन्त्रीले मात्रै टिकट पाएका छन् । बाँकी १० मन्त्री उम्मेदवार बन्ने दौडबाट बाहिरिएका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीअनुसार माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बनेका धेरैजसो फेरि उम्मेदवार बनेका छन् ।

प्रदेशमा माओवादीबाट ५ जना मन्त्री छन् । जसमध्ये ४ जनाले टिकट पाएका छन् । एकीकृत समाजवादीबाट मन्त्री रहेका ५ मध्ये ३ जना फेरि चुनावी मैदानमा छन् । प्रदेशमा सबैभन्दा धेरै मन्त्री रहेको कांग्रेसले आसन्न निर्वाचनमा भने एक जनालाई मात्र उम्मेदवारका रूपमा दोहोर्‍याएको छ । कांग्रेसका ८ मध्ये ७ मन्त्री उम्मेदवार बन्नै पाएनन् । उनीहरू समानुपातिक सूचीमा समेत समेटिएनन् । बहालवाला सबै मन्त्री सत्तारूढ गठबन्धनतर्फबाट उम्मेदवार भएका छन् ।

मुख्यमन्त्री एवं एकीकृत समाजवादी संसदीय दलका नेता रहेका राजेन्द्रप्रसाद पाण्डे प्रदेशसभा छाडेर प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् । उनी गठबन्धनबाट धादिङ–१ मा उठेका छन् । एकीकृत समाजवादीकै नेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल प्रदेशसभा सदस्यका लागि चितवन–१ (२) मा उम्मेदवार बनेका छन् । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बसन्तप्रसाद मानन्धर सहयोगमा काठमाडौं–७ (२) बाट चुनावी मैदानमा छन् ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता बसुन्धरा हुमागार्इंले भने गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका थिए तर पार्टी केन्द्रको निर्देशनपछि उनले उक्त उम्मेदवारी फिर्ता लिएका छन् । उनको बागी उम्मेदवारी काभ्रे–२ (२) मा परेको हो । यो क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेस वाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे उम्मेदवार छन् । तर, हुमागाईंले आफू गठबन्धनको आधिकारिक उम्मेदवार भएको भन्दै बागी उम्मेदवारी दिएका थिए । उनी एकीकृत समाजवादीको वाग्मती प्रदेशसभा सचेतकसमेत थिए । गत निर्वाचनमा उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमाया गुरुङ भने उम्मेदवार बन्नै पाइनन् । यसअघि उनी एमालेको समानुपातिक सूचीबाट प्रदेशसभा सदस्य बनेकी थिइन् ।

माओवादी केन्द्रका नेता एवं प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल यस पटक पनि प्रदेशसभामै दोहोरिने इच्छासहित चुनावी मैदान उभिएका छन् । उनी धादिङ–१ (२) बाट उम्मेदवार बनेका छन् । यसैगरी, सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पनि गठबन्धनका तर्फबाट मकवानपुर–२ (१) मा मनोनयन दर्ता गराएकी छन् । उनी पनि माओवादीकै नेता हुन् । माओवादीकै अर्का नेता एवं युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले काभ्रे–१ (१) मा मनोनयन दर्ता गराउँदा श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल चितवन–२ (१) मा उम्मेदवार बनेका छन् ।

माओवादीबाट मन्त्री बनेका वन तथा वातावरणमन्त्री विशाल खड्काले भने आसन्न निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाएनन् । २०७४ सालको निर्वाचनमा दोलखाबाट निर्वाचित खड्काले सत्तारूढ गठबन्धनमा भागबन्डा मिलाउँदा उक्त क्षेत्र गुमाउनुपरेको हो ।

कांग्रेसबाट मन्त्री बनेका प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ पनि पुनः प्रदेशसभा सदस्यकै लागि चुनाव लड्ने भएका छन् । उनी काठमाडौं–१ (१) मा गठबन्धनको उम्मेदवारका रूपमा छन् । प्रदेशमा कांग्रेसबाट सहभागी मन्त्रीहरूमध्ये टिकट पाउने उनी एक मात्र व्यक्ति हुन् ।

प्रदेशसभामा कांग्रेस संसदीय दलका उपनेता रहेका तथा भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल भने आसन्न निर्वाचनमा उम्मेदवारका रूपमा रहने छैनन् । यसअघि उपनिर्वाचनमा भक्तपुरबाट निर्वाचित भएका उनले यसपालि टिकट पाएनन् । स्वास्थ्यमन्त्री निमा लामाले पनि उम्मेदवारको दौडमा बाजी मार्न सकेनन् । गत निर्वाचनमा उनी सिन्धुपाल्चोक–२ (२) बाट निर्वाचित भएका थिए ।

कांग्रेसबाटै मन्त्री बनेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलन बाबु श्रेष्ठ गत निर्वाचनमा समानुपातिक सूचीबाट सांसद भएका थिए । यही सूचीमा थिए भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल पनि । तर, यसपालि दुवै जना प्रत्यक्ष र समानुपातिक कतै पनि अटाउन सकेनन् ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि आसन्न निर्वाचनमा उम्मेदवारका रूपमा आफूलाई उभ्याउन सकेनन् । यसअघि उनीहरू कांग्रेसको सामानुपातिकतर्फबाट प्रदेश सांसद बनेका थिए ।