२०८१ बैशाख १४, शुक्रबार    

प्रधानलाई विजुली माया वन संगीत पुरस्कार

२०७९ पौष ९, शनिबार १८:०६ बजे

भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान नेपालले विजुली माया वनः संगीत राष्ट्रिय पुरस्कार २०७९ वरिष्ठ गायक, सङ्गीतकार, लेखक तथा निर्देशक डा. किरण प्रधानलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानले २०६४ सालमा स्थापना भएकाे विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारद्वारा भीम विरागकाे स्मृती दिवसको अवसरमा प्रधानलाई सम्मान गर्न लागेकाे हाे । हेटौंडाका कुशल व्यवसायी, सङ्गीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नामबाट स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १ लाख रुपैया रहेकाे छ ।

आगामी माघ १५ गते हेटौंडामा सांगितिक कार्यक्रमको आयोजना गरी प्रधानलाई पुरस्कार प्रदान गर्ने प्रतिष्ठानले शनिबार जानकारी दिएकाे छ । प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यका अनुसार २०१० सालमा काठमाडौंमा जन्मिएका प्रधानको के सोचें मैले के भयो अहिले, छातीमा मेरो यो छोटो भोटो, भुल हो तेरो भागी हिँड्नु जीवनदेखि, रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो, पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदे, अभागी आमा कुन देशमा, विपना नभई बाँचिदिने म भित्रका मेरा सपनालगायत ४ सय बढी गीतहरुमा स्वर दिएका छन् ।

यस अघी विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट अम्बर गुरुङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), प्रकाश श्रेष्ठ (२०६९), दीप श्रेष्ठ (२०७०), न्हुच्छे बहादुर डंगोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की ( २०७४) दावा ग्याल्माे (२०७७) र दीपक जङ्गम (२०७८) पुरस्कृत भइसकेका अध्यक्ष आचार्यले जानकारी दिए ।

वरिष्ठ कलासाधक कवि एवम् गीतकार भीम विरागकाे व्यक्तित्वप्रति सम्ममान स्वरुप भाषा साहित्य र कला क्षेत्रकाे संरक्षण एवम् संवर्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएकाे प्रतिष्ठानले साहित्य संगीत साँस्कृतिक र कला क्षेत्रमा १२ वटा पुरस्कारकाे व्वस्थापन गर्दै आएकाे छ । शनिबार मात्र ६ जना व्यक्तित्वलाई ६ विधाकाे पुरस्कारद्वारा सम्मान गरेकाे प्रतिष्ठानले अन्य विधाकाे पुरस्कार चाडै घाेषणा गरी प्रदान गर्ने बताइएकाे छ ।