२०८१ बैशाख ६, बिहीबार    

बज्रधाम चौतारी पर्यटन विकासलाई हस्तान्तरण

२०७९ पौष २८, बिहीबार १९:०७ बजे

जगत गुरुत्तम मन्दिर अध्यात्म केन्द्रले निर्माण गरेको बज्रधाम चौतारी हेटौंडा १७ जुरेथुम पर्यटन विकास केन्द्रलाई हस्तान्तरण गरिएको छ । जगतगुरु कृपालु महाराजको ६६ औं दिवसको अवसरमा बिहीबार एक कार्यक्रमकाबीच चौतारी हस्तान्तरण गरिएको हो ।

पर्यटन विकास समितिका अध्यक्ष शंकर राउतको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । लामाले हेटौंडालाई चिनाउन र सकारात्मक सन्देश प्रवाहमा भूमिका खेल्न अनुरोध गरिन् । ६६ औं दिवसमा देशभर रहेका कृपालु महाराजका भक्तहरुको तीनदिने साधनाको समेत उद्घाटन गरिएको थियो ।

सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको थियो । जनरन फिजिसियन, डेन्टल र फिजियो थेरापीका डाक्टर तथा चिकित्सकबाट सेवा प्रदान गरिएको थियो । स्वास्थ्य शिविर डिभाइन युथ क्लब नेपालको व्यवस्थापनमा भएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा अध्यक्ष उद्धव सत्याल, कार्यक्रम संयोजक किरण शर्मा भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।