२०८१ बैशाख ८, शनिबार    

मकवानपुरसँग कुनै समस्या छैन : मनाङ अध्यक्ष घले

२०८० बैशाख १९, मंगलबार ०९:२२ बजे

पाँचौं स्थानीय तह सहिद स्मृती मनवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक मकवानपुर जिल्ला फुटबल संघसँग अब कुनै तिक्तता नरहेको विजेता मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घलेले बताएका छन् ।

फागुन ११ गते सम्पन्न मनवानपुर गोल्डकपको विजेताका रुपमा प्राप्त गर्नुपर्ने रकम पाउन ढिला भएकोले मनाङ र जिल्ला फुटबल संघबीच केहि तिक्तता रहेको थियो । अहिले सबै रकम भुक्तानी भइसकेकोले दुई पक्षबीच कुनै समस्या नरहेको मनाङ अध्यक्ष घलेले बताए ।

‘पुरस्कार रकम समयमा उपलब्ध नहुँदा केहि समस्या थियो । अब हामीले सबै भुक्तानी पाइसकेका छौं, घलेले हाम्रो खेलकुदसँग सोमबार भने, अब कुनै समस्या छैन ।’ भविष्यमा पनि आपसी समझदारी रहेमा मकवानपुर गोल्ड कपमा आफ्नो टोलीको सहभागिता रहने घलेले प्रष्ट पारे ।

मकवापुरले दुई किस्तामा पुरस्कार रकम भुक्तानी गरेको थियो । संघले दोस्रो पटक वैशाख १३ गते ६ लाख ६५ हजार रुपैयाँ र त्यसअघि गत वर्ष चैत ३१ गते ४ लाख रुपैयाँ मनाङ खातामा रकम जम्मा गरेको जिल्ला संघका अध्यक्ष टिका लामाले जानकारी दिए ।
आन्तरिक व्यवस्थापन मिलाउन केहि समय लागेकाले पुरस्कार राशीको सम्पूर्ण भुक्तानीका लागि समय लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य समेत रहेका जिल्ला संघका अध्यक्ष लामाले बताए ।

‘जिल्लामा फुटबल आयोजना गर्न कठिन छ । त्यसमा आर्थिक व्यवस्थापन झनै कठिन छ, उनले भने, त्यसै कारणले हामीले पुरस्कार रकम भुक्तानी गर्न ढिलाई भएको हो । यहाँ वर्षौ सम्म पनि पुरस्कार रकम नदिएका उदाहरण छन् । तर हामीले नियतवश नभई व्यवस्थापनका लागि समय लागेकाले ढिलाई भएको हो । त्यसलाई सबै पक्षले बुझ्न जरुरी छ ।’

माघ २९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो । हिमालयन शेर्पा क्लबलाई हराउँदै मनाङले उपाधि जितेको थियो । विजेतको १५ लाख र दोस्रो टोलीको १० लाख रुपैयाँ पुरस्कार रहेको थियो ।