२०८१ बैशाख १७, सोमबार    

प्रदेशमा प्रतिस्पर्धा गर्ने मकवानपुरे खेलाडीको बन्द प्रशक्षिण सुरु

२०८० फाल्गुन १४, सोमबार १८:०९ बजे

छिमेकी जिल्ला चितवनमा फागुन २१ गतेबाट हुन सञ्चालन हुने वाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागिता जनाउने मकवानपुरे खेलाडीको बन्द प्रशिक्षण सुरु गरेका छन् ।

मकवानपुरमा भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको हो । गत वर्षबाट सुरू भएको बन्द प्रशिक्षण यस वर्ष पनि निरन्तरता दिइएको हो । बन्द प्रशिक्षणमा ९८ जना खेलाडी सहभागी छन् ।

‘अघिल्लो वर्ष प्रतियोगिता खेल्न जानु अघि बन्द प्रशिक्षण राखेका थियौं । बागमती प्रदेशमै तेस्रो स्थान हाँसिल गर्न सफल भएका थियौं’, खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाले भने, ‘यस वर्ष पनि बन्द प्रशिक्षणलाई निरन्तरता दिएका हौं । अघिल्लो वर्ष भन्दा राम्रो नतिजा आउने विश्वास लिएका छन् । बन्द प्रशिक्षण एकहप्ता चल्नेछ ।

आइतबारबाटै बन्द प्रशिक्षण सुरु भएपनि सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले बागमती प्रदेशमै उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्दै खेलाडीहरुलाई उज्वल भविष्यको शुभकामना व्यक्त गरे । पछिल्लो समय लागूऔषध दुव्र्यसनले युवाहरु ग्रसित भएको उल्लेख गर्दै उनले खेलाडीहरुलाई लागूऔषधबाट टाढा रहन सुझाव दिइन् ।

हेटौंडा स्कूल अफ म्यानेजमण्टका प्रमुख पुरणबहादुर जोशीले अनुशासित भएर खेल्दै जिल्लाको नाम राख्न शुभकामना दिए । कार्यक्रममा एथ्लेटिक्स संघका अध्यक्ष प्रभाकर पाण्डे, मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्य, सितोरियो कराते संघका अध्यक्ष दीपक लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राष्ट्रपति रनिङशिल्डको प्रदेश प्रतियोगितामा सहभागिताका लागि हेटौंडा उपमहानगरपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरेको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले जानकारी दिए । बन्द प्रशिक्षपश्चात् ९८ खेलाडी, १५ अफिसियल र २ जना नेतृत्वसहित ११५ जनाको टोली चितवन प्रस्थान गर्नेछ ।