स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर नाचो फर्नान्डेस र फरवार्ड जोसेलु माटाले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् ।
सान्टियागो बर्नाबेउमा सम्झौताको अवधि सकिएसँगै युरो २०२४ मा स्पेनको प्रतिनिधित्व गरिरहेका नाँचोले नयाँ चुनौती पछ्याउने निर्णय गरेका छन् । उनी साउदी प्रो लिग क्लब अल कादासियामा सामेल हुने सम्भावना रहेको छ ।
३४ वर्षीय नाँचो रियलले गत सिजन कीर्तिमानी ३५औं पटक ला लिगा, १५औं पटक च्याम्पियन्स लिग र स्पेनिस सुपर कोपा जित्दा टोलीका महत्वपूर्ण सदस्य हुन् ।
उनको प्रस्थानले क्लबसँगको २३ वर्षको लामो यात्रा टुंगिने छ । नाँचो सन् २००१ देखि नै रियलमा रहेका थिए । रियलकै एकेडेमीबाट आफ्नो प्रतिभा निखारेका नाँचोले सन् २०११ मा मात्रै रियलको सिनियर टोलीमा स्थान बनाएका थिए ।
त्यसयता उनी रियलको महत्वपूर्ण सदस्य छन् । उनले रियलबाट ३६४ खेलबाट १६ गोल गरेका छन् । विभिन्न २६ उपाधि जितेका छन् । नाँचो ६ पटक च्याम्पियन्स लिग जित्ने खेलाडीसमेत हुन् ।
नाँचोले क्लब छाड्ने भएसँगै अब रियलको कप्तानी भेट्रान मिडफिल्डर लुका मोड्रिचले सम्हाल्नेछन् । उनले रियलसँग थप एक वर्षको सम्झौता गरिसकेका छन् । मोड्रिचपछि ड्यानी कार्भाहल, लुकास भाज्क्वेज, फेडेरिको भाल्भर्डे, थिवाउट कोर्टुवा र भिनिसियस जुनियर कप्तानीको सुचीमा रहेका छन् ।
यस्तै केलियन एमबाप्पे र एन्ड्रिकको आगमन हुने भएसँगै फरवार्ड जाेसेलुले रियल छाड्ने निर्णय गरेका छन् । म्याड्रिडले यसै साता आरसिडी स्पान्योलसँग १.५ मिलियन पाउन्डमा स्थायी खेलाडीको लागि सम्झौता गर्ने निर्णय गरेको थियो ।
तर, स्पान्योल पुनः ला लिगामा बढुवा भएसँगै उनले रियल छाड्ने तयारी गरेका हुन् । उनले पनि साउदी अरेबिया नै नयाँ गन्तव्य बनाएको बुझिएको छ । अल कादसियाहले उनलाई अनुबन्ध गर्ने योजना बुनेका छन् ।
१२ वर्षपछि क्लबमा फर्किएका जाेसेलुले दोस्रो कार्यकालमा सानदार प्रदर्शन गरे । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखविरुद्धको सेमिफाइनलमा खेलको अन्त्यतिर दुई गोल गरेर टोलीलाई फाइनलमा पु¥याएका उनलाई रियल म्याड्रिडका समर्थकहरूले यि ३४ वर्षीय होसेलुलाई प्रेमपुर्वक सम्झनेछन् ।
फाइनलमा बोरुसिया डर्टमुन्डलाई हराएर रियलले कीर्तिमानी १५औं उपाधि जित्न सफल भयो । जाेसेलुले गत सिजन रियलबाट ४९ खेलमा १८ गोल गरे । तीन उपाधि जित्न सफल भए ।