२०८१ बैशाख ८, शनिबार    

वधशालाको अनुदान दुरुपयोग, असुल गर्न लेखाको निर्देशन

२०७९ भाद्र २७, सोमबार ०९:३६ बजे

हेटौंडा औद्योगिक क्षेत्रमा वधशाला सञ्चालन गर्ने बहानामा विवादास्पद रूपमा दिइएको सरकारी अनुदान दुरुपयोग भएको छ । वाग्मती प्रदेशसभाको सार्वजनिक लेखा समितिले अनुदानको दुरुपयोग भएको भन्दै तत्काल कारबाही गर्नुपर्ने ठहर गरेको हो ।

बफेलो क्वालिटी फुड प्रालिले वधशाला सञ्चालन गर्ने भन्दै प्रदेशबाट लिएको ६२ लाख रुपैयाँ अनुदान दुरुपयोग भएको सम्बन्धमा समितिले कारबाही गर्न निर्देशन दिएको हो । अनुदानको दुरुपयोग भएको विषयमा प्रदेशसभाले गठन गरेको कृषि अनुदान वितरण छानबिन उपसमितिले समितिमा पठाएको अनुसन्धान रिपोर्टका आधारमा समितिले दुरुपयोग भएको अनुदान रकम असुलउपर गर्नुपर्ने निर्णय गरेको समिति सदस्य तथा सांसद रमेश पौड्यालले जानकारी दिए ।

राजनीतिक पहुँचका आधारमा अनुदान लिएर त्यसको दुरुपयोग हुँदासमेत प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कारबाही गर्न नसकेको ठहर समितिको छ । बफेलो फुडले २०७६ साउनमा तत्कालीन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग हेटौंडा औद्योगिक क्षेत्रमा वधशाला सञ्चालन गर्ने भन्दै अनुदान लिन सम्झौता गरेको थियो । तामझामले वधशालाको उद्घाटन गरिए पनि नियमित सञ्चालन नगरी बफेलो फुड केही समयपश्चात् औद्योगिक क्षेत्रबाट हटेको थियो । हाल वधशाला पूर्ण रूपमा बन्द अवस्थामा रहेको र त्यतिबेला अनुदानबाट खरिद गरिएका मेसिन पनि छैनन् ।

बफेलो क्वालिटी फुड प्रालि र मन्त्रालयबीच १६ जेठ २०७६ मा अनुदानबाट सञ्चालित वधशालाको सम्झौता भएको थियो । प्रदेशसभाको सार्वजनिक लेखा समिति सभापति न्हुछेनारायण श्रेष्ठले दुरुपयोग भएको अनुदान रकम असुलउपर गर्न निर्देशन दिइएको बताए । ‘सार्वजनिक लेखा समितिले अनुदान प्राप्त गरेको छोटो समयमा नै उपकरण र संरचनाहरू योजना स्थलमा नहुनुले भ्रष्टाचार भएको ठहर गर्दै अनुदान प्रदान गर्ने निर्णयमा मुख्य भूमिका निर्वाह गर्नेहरूमाथि कारबाही गर्न निर्देशन दिएको हो,’ उनले भने । उनले अनुदानमा भ्रष्टाचार भएको स्पष्ट देखिएकाले सरकारलाई निर्णयमा संलग्नलाई कारबाहीसहित असुलउपर गर्न निर्देशन दिइएको बताए । असुल उपर नगरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारमा मुद्दा चलाउन लेखी पठाउनेसमेत समितिले निर्णय गरेको छ । बफेलो क्वालिटी फुड प्रालिले प्रदेशसँग वधशाला सञ्चालन गर्ने नाममा ६२ लाख २२ हजार ५ सय रुपैयाँ अनुदान लिएको थियो । वधशालाको कुल परियोजना लागत १ करोड ४२ लाख ८४ हजार थियो ।

सम्झौताअनुसार वधशाला सञ्चालनको लागत इस्टिमेट अनुसारको रकमको ५० प्रतिशत बढीमा ७१ लाख ४२ हजार भुक्तानी हुने भनिएको छ । बफेलो क्वालिटी फुडले १ करोड ३१ लाख १९ हजार ५ सय २४ रुपैयाँको सञ्चालन खर्च पेस गरेपछि ६२ लाख २२ हजार ५ सय रुपैयाँ अनुदान पाएको थियो ।