हेटौंडा/ हेटौंडा–१९ बस्तीपुरमा रहेको जनहित सामुदायिक वन उपभोक्ता समूहको कार्यसमितिमा तीनदलले पद बाँडफाँड गरेर निर्वाचनमा आफ्नो कब्जा जमाएका छन् ।
सामुदायिक वनमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवारको रुपमा रहेका अध्यक्षमा बिक्रमबहादुर पण्डित विजयी भएका छन् । समूहको २७ औं बार्षिक साधारण सभाअन्तर्गत् शनिबार भएको निर्वाचनमा अध्यक्षका अन्य दुई उम्मेदवारलाई हराउँदै तीन वर्षीय कार्यकालका लागि पुन: पण्डित निर्वाचित भएका हुन् । ८५० जना मतदाता रहेकोमा ६७५ मत खस्दा १३ मत बदर भएको थियो । जसमा पण्डितले ३६८ मत, सागरमणि कंडेलले २०० मत र सन्दिप पाठकले ९४ मत ल्याएका थिए ।
नयाँ कार्यकालको लागि अध्यक्ष बाहेक सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । समूहको उपाध्यक्षमा होमनाथ पुडासैनी, सचिव स्नेहा जिम्बा, कोषाध्यक्ष टोलबहादुर विक, सहसचिवमा दुर्गा फुयाँल तथा सदस्यमा हिरामाया थोकर, रमा गोले, कमला ब्लोन, सविना तितुङ, बालकुमार थिङ, पूर्णबहादुर घलान, हेमप्रसाद उप्रेती र नारायणप्रसाद बर्तौला सर्वसम्मत चयन भएको निर्वाचन संयोजक मनहरी बर्तौलाले जानकारी दिए । कुल १५ सदस्यीय कार्यसमितिमा तीन दलले ५/५ जनाका दरले कार्यसमितिमा आफ्नो उपस्थिति जमाएका छन् ।
अध्यक्षमा निर्वाचित भएका पण्डितले सबैलाई समेट्दै संस्थागत हितमा काम गर्ने प्रतिबद्धता जनाए ।