२०८१ बैशाख १४, शुक्रबार    

एकीकृत खानेपानी तथा ढल व्यवस्थापन गर्दै हेटौंडा

२०७९ आश्विन १०, सोमबार ११:१३ बजे

व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउने तायारीमा हेटौंडा उपमहानगरपालिका जुटेको छ । एसियाली बिकास बैंकको सहयोगमा नेपाल सरकार खानेपानी बिकास मन्त्रालयमार्फत् उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत हेटौंडामा व्यवस्थित खानेपानी बितरण र ढल व्यवस्थापनको तयारी गरेको हो ।

आयोजनाअन्तर्गत २०५५ सम्मको डिपिआर योजनासहित हेटौंडाको शहरी ढल व्यवस्थापन, भूमिगत ढल र शहरी लेदोजन्य फोहर व्यवस्थापन सम्बन्धी सोमबार उपमहानगरपालिकामा छलफल गरिएको थियो । शहरी क्षेत्रमा बिस्तारै बढ्दै गएको ढलजन्य लेदो तथा अन्य फोहोर व्यवस्थापन गर्न सकिने काम र व्यवस्थापनको बिषयमा छलफल भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाले गर्दै आएको जमिन वर्गीकारणको कामलाई रोक्दै एकीकृत व्यवस्थित शहरको निर्माण र विकासमा अघि बढ्ने बताइन् ।

उनले सरकारी क्षेत्रबाट हुने गुरुयोजना र आवधिक योजनाको काम कहिले सकिन्छ भन्ने टुङ्गो नभएका कारण कार्यान्वयनमा जान समस्या हुने गरेको बताइन् । उनले भनिन् ‘अब हुने बिकासको काममा अघि लगानी भएका पूर्वाधारको प्रयोग गरेर अघि बढ्दा सहज हुन्छ, यसअघि निर्माण भएका पुर्वाधारको गुणस्तर र व्यवस्थापन मापन गरेर अघि बढ्छौं ।’ उनले उपमहानगरपालिका आवधिक र गुरुयोजना बनाएरै बिकासको काममा अघि बढ्ने तयारीमा रहेको बताइन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सञ्चालनमा रहेकोे हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले अहिलेसम्म उपमहानगर क्षेत्रमा खानेपानीको बितरण र आवश्यक पूर्वाधार र व्यववस्थापनको बिषयमा बताएका थिए । बिष्टले अहिलेसम्म बोर्डले २२ वटा डीप बोरीङ, ७ वटा.सम्वयलवाट उत्पादन भएको पानी २२ हजार २५० धारामार्फत् खानेपानीको बितरण भैरहेको बताएका थिए । बोर्डले अहिले दैनिक १ करोड ८२ लाख लिटर पानी दैनिक बितरण गर्दै आएको उनले जानकारी दिए ।

व्यवस्थित ढल र खानेपनीको व्यवस्थापनमा आएको परामर्शदातासहितको टोलीले नयाँ बिकासहुँदै गरेका वडाहरुमा प्रदेश सरकारले निर्माण गर्ने भवन र पूर्वाधारलाई सहयोग पुग्ने गरी काम गर्न अनुगमन गरेका छन् । छलफल कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागार्इं, खानेपानी तथा ढल व्यवस्थान आयोजनाका प्रमुख बालमुकुन्द श्रेष्ठलगायत अन्य प्राविधिकहरुको सहभागिता रहेको थियो ।