२०८१ बैशाख १७, सोमबार    

मनहरीमा ६९३ सुकुम्बासीलाई जग्गा बाँड्न सिफारिस

२०८० भाद्र ३, आईतबार ११:४० बजे

मनहरी गाउँपालिकाका सुकुम्बासीहरुलाई बितरणका लागि मनहरी गाउँपालिकामा पर्याप्त जग्गा फेला परेको छ ।

गाउँपालिकाका ९ वटै वडामा खाली र पर्ती जग्गा रहेकाले सुकुम्बासी परिवारलाई बितरण गर्न जग्गाको अभाव नरहेको वडा कार्यालयहरुले गाउँ कार्यपालिकालाई जानकारी गराएको हो ।
मनहरी गाउँपालिका भूमि व्यवस्थापन शाखा प्रमुख राजेन्द्र चौलागाईका अनुसार कूल ६९३ जना सुकुम्बासी पहिचान भएको छ ।

दलित भूमिहीन १०१ परिवार र भूमिहीन सुकुम्बासी ५९२ परिवार पहिचान भई उनीहरुलाई जग्गा बितरणका लागि राष्ट्रिय भूमि आयोगमा प्रतिवेदनका साथ सिफारिस गरिएको उनले बताए ।

मनहरी गाउँपालिकाका २०८० साउन १६ गतेको कार्यपालिका बैठकले ६९३ परिवार सुकुम्बासीलाई बितरण गर्नका लागि १ देखि ९ वटै वडामा पर्याप्त जग्गा रहेको विवरणसहित आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठका अनुसार वडा नं १ मा २२० कट्ठा, वडा नं २ मा एक हजार कट्ठा, वडा नं ३ मा २ सय कट्ठा, वडा नं ४ मा ८९४ कट्ठा, वडा नं ५ मा २२० कट्ठा, वडा नं ६ मा ४२० कट्ठा, वडा नं ७ मा २ हजार १ सय कट्ठा, वडा नं ८ मा ३२० कट्ठा र वडा नं ९ मा ३२० कट्ठा जग्गा फेला पारिएको छ ।

९ वटै वडामा गरी कूल ५ हजार ३ सय ७४ कट्ठा जग्गा फेला पारिएको कार्यपालिकाले जनाएको छ ।

यद्यपि मनहरी गाउँपालिकाभित्रका ६९३ परिवार सुकुम्बासीका लागि जग्गा बितरण गर्न ३ हजार ६ सय ४८ कट्ठा जग्गा आवश्यक पर्छ ।
गाउँपालिकाले राष्ट्रिय भूमि आयोगलाई सिफारिस गरिएका खुला र पर्ती जग्गाहरु अधिकाँश पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा परेका छन् ।

कानूनी जटिलताका कारण निकुन्जले ती जग्गालाई नापी गर्न दिनसक्ने अबस्था भने नदेखिएको जानकारहरु बताउँछन् । (मनहरी लाइभ)