२०८१ बैशाख १८, मंगलबार    

किन बढ्यो माइकल र रघुरमणको ‘सक्रियता’ ?

२०७९ बैशाख ८, बिहीबार १७:२४ बजे

स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापतिद्वय रघुरमण न्यौपाने र माइकल रामचन्द्र अर्यालको ‘सक्रियता’ बढ्न थालेको देखिएको छ ।

कांग्रेस मकवानपुरमा वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रभाव ज्यादै रहेको छ । बानियाँको प्रभावसँगै लामो समय छायाँमा परेका न्यौपाने र अर्याल पुनः सक्रिय हुन थालेका हुन् । विशेष गरी हाल सत्तारुढ गठबन्धनले हेटौंडाको मेयरमा नेकपा (एस)लाई अगाडि बढाउने निर्णय गरेसँगै माइकल र न्यौपाने हेटौंडामा ‘एन्टी बानियाँ’ मुभमेन्ट बनाएर आफूलाई क्रियाशील बनाउँदै कार्यकर्ताको मन जित्ने कोसिस गर्न थालेका छन् ।
उनीहरु अघिल्लो स्थानीय तह निर्वाचनमा हेटौंडामा कांग्रेस थोरै मतान्तरले पराजित भएका कारण कांग्रेस नै उम्मेदवार हुनुपर्ने भन्दै केन्द्रको निर्णय र संस्थापन पक्षविरुद्ध आवाज उठाइरहेका छन् । उनीहरु दुवैवीच हेटौंडाको मेयरमा आनन्दराम पराजुलीलाई अगाडि बढाउन भद्र सहमति भएको देखिन्छ ।

हेटौंडाको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै विहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति आनन्द कठायतले प्रेस विज्ञप्ति पढेका थिए । उनले प्रेस विज्ञप्ति पढेसँगै पत्रकारसँग सवाल जवाफ क्रम सुरु भएको थियो । सोही क्रममा उपसभापति कठायतले जवाफ दिन अप्ठेरो पर्नेवित्तिकै न्यौपाने र अर्यालले उत्तर दिएर आफूहरुको उपस्थिति रहेको जनाउ दिन्थे ।

हालकै अवस्थामा सम्भवतः केन्द्रको निर्णय पुनरावलोकन हुने सम्भावना छैन । यस विषयमा विज्ञ हुँदाहुँदै पनि जिल्लामा संस्थापन इतर समूहको संरक्षण र कार्यकर्तामा ऊर्जा भर्न उनीहरु दुवै सक्रिय भएको देखिन्छ । लामो समयदेखि विपरित ध्रुवको नेतृत्व गरिरहेका न्यौपाने र अर्याल कांग्रेसको १४ औं महाधिवेशनबाट एउटै कित्तामा उभिएका थिए । फलस्वरुप कांग्रेस जिल्ला पदाधिकारीमा यस समूहको वर्चश्व नै स्थापित भयो । जिल्ला कार्यसमितिमा संस्थापन इतर पक्षले उठाएको मुद्धा बलियो बन्दै गएपछि हालका सभापति बुद्ध लामाले एकैपटक दशजनालाई जिल्ला सदस्यमा मनोनित गरी आफूलाई पुनः बहुमतमा ल्याएका थिए ।

न्यौपाने र अर्यालको अहिलेको सक्रियतालाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएकोछ । केहीले आफू निकटका कार्यकर्तालाई टिकट दिलाउन उनीहरु सक्रिय भएको बताइरहेका छन् । केहीले भने भित्रिरुपमा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’सँगको गोप्य सहमतिको आधारमा दैनिकजसो ‘एन्टी बानियाँ’ मुभमेन्ट सञ्चालन गरेर कार्यकर्तालाई आफूतिर ल्याउन खोजेको आरोप लगाइरहेका छन् ।
जिल्ला अधिवेशनमा सभापतिको विषयमा विवाद भएपछि मकवानपुरमा संस्थापन पक्षभित्र हाल दुईवटा समूह क्रियाशील रहेको छ ।