२०८१ बैशाख २०, बिहीबार    

प्रदेशद्वारा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित

२०८० असार २४, आईतबार १८:५९ बजे

वाग्मती प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानाराण श्रेष्ठको अध्यक्षता आइतबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति बैठकले कार्ययोजना पारित गरेको हो ।

कार्यकारी समिति बैठकले वाग्मती प्रदेशमा मनसुनको कारणले हुनसक्ने धनजनको क्षतिलाई न्यूनिकरण गर्न अपनाउन पर्ने सावधानी, पूर्वतयारी र उद्धारसम्बन्धी प्रतिकार्यको योजना निर्माण गरेको जनाइएको छ ।

बैठकले विभिन्न विषयगत क्षेत्रमा कार्य गर्नेगरी प्रदेश सरकारका विषयगत मन्त्रालयहरु र गैरसरकारी संघसंस्थाहरुका लागि ठोस कार्यको जिम्मेवारीसमेत तोके मन्त्री श्रेष्ठले जानकारी दिए ।

मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन परिषद्ले प्रदेशमा विपद्सँग सम्बन्धित पूर्वतयारीदेखि पुनर्लाभसम्मका कार्यका लागि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिलाई निर्देशन दिन्छ भने आन्तरिक मामिला तथा कानुनमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले विभिन्न सरोकारवाला निकायहरुसँग निरन्तर समन्वय गरी प्रतिकार्यका लागि चाहिने सामग्री साथै राहत सामग्रीहरुको प्रबन्ध गर्ने, भण्डारण गर्ने र वितरण गर्ने काम गर्छ । त्यस्तै प्रदेश विपद् कोष संचालन समितिले प्रदेश विपद् व्यवस्थापन परिषद् र कार्यकारी समितिबाट निर्देशन भएबमोजिम आवश्यक रकम कोषबाट खर्च गर्दछ ।

आजको बैठकले सम्पूर्ण विषयगत मन्त्रालयहरुका सचिव, सुरक्षा निकायका प्रमुखहरु र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । साथै आइतबार नै एक कार्यक्रमबीच मन्त्री श्रेष्ठले वाग्मती प्रदेश प्रहरी कार्यालयका लागि प्रहरी नायव महानिरीक्षक किरण राणालाई ड्रोन हस्तान्तरण गरे ।

बैठकमा मुख्यमन्त्री कार्यालयसहित सरोकारवाला मन्त्रालयका सचिवहरु, आन्तरिक मामिला मन्त्रालयका सचिव, नेपाल रेडक्रस, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरुको उपस्थिति थियो ।