२०८१ बैशाख ८, शनिबार    

डीनालाई मैले चुनाव हराको होइन, म मुख्यमन्त्री हुन्छु : इन्द्र बानियाँ

२०७९ मंसिर २६, सोमबार १३:०९ बजे

नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा नवनिर्वाचित प्रदेश सांसद इन्द्रबहादुर बानियाँ बागमतीमा कांग्रेस नेतृत्वको सरकार बन्ने बताएका छन् ।

मुख्यमन्त्री मुख्य दाबेदार सभापति बानियाँले पुसको दोस्रो सातासम्म कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरे । उनले बागमती प्रदेशमा कांग्रेस संसदीयको नेताका लागि आफ्नो नाम सर्वसम्मत हुने विश्वास व्यक्त गरे । उनले आगामी पाँच वर्षमा बागमती प्रदेशले संघीयताको औचित्य पुष्टि हुने गरी काम गर्ने पनि बताए ।

यस्तै बानियाँ मकवानपुरमा गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार हराउन भूमिका खेलेको भन्दै आफूमाथि लागेको अन्तर्घातको आरोपको तथ्यगत रूपमा खण्डन पनि गरे । बागमतीमा कांग्रेस संसदीय दलको चुनाव, नयाँ सरकार गठन लगायतका विषयमा कांग्रेस सभापति बानियाँसँग  कुराकानीको गरिएको छ । बानियाँसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत छ –

तपाईंं नेपाली कांग्रेस बागमती प्रदेशको सभापति भएपछि यहाँ कांग्रेस पहिलो पार्टी भएको छ । गठबन्धनले सुविधाजनक बहुमत पनि हासिल गरेको छ । नयाँ सरकार गठनको गृहकार्य केही सुरु हुन्छ ?

प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदको नाम लिस्ट सोमबार सार्वजनिक हुने छ । त्यसपछि संघमा आ–आफ्नो दलको नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्छ । त्यसपछि प्रदेशमा पनि अगाडि बढ्छ ।प्रदेशसभाका ज्येष्ठ सदस्यको अध्यक्षतामा पहिलो प्रदेशसभा बैठक बस्छ । प्रदेश प्रमुखले प्रदेश सरकार गठनका लागि बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गर्नुहुन्छ ।

बागमती प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन ।  दुई वटा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउने प्रदेशसभा सदस्य नै मुख्यमन्त्री हुन्छ । गठबन्धनको बहुमत छ । त्यही अनुसार हामी सरकार गठनको प्रक्रियामा जान्छौँ । यसरी हेर्दा पुसको दोस्रो सातातिर बागमती प्रदेशले नयाँ सरकार बनाउने सम्भावना देख्छु ।

यसअघि पनि बागमती प्रदेश संसदीय दलको नेता बन्नु भएको थियो । यस पटक पनि आफै संसदीय दलको नेता बन्ने तयारीमा हुनुहुन्छ वा कसैलाई अगाडि सार्ने तयारी छ ?

संसदीय दलको नेता भएर मुख्यमन्त्री हुने गरी पार्टी नेतृत्वसँगको सहमति अनुसार प्रदेशसभा सदस्यमा पुन: निर्वाचन लड्न तयार भएको हुँ । नभए म प्रदेशमा निर्वाचन लड्ने मुडमा थिइनँ । बागमती प्रदेशको सभापति भइसकेपछि मैले पार्टीलाई स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पहिलो बनाउने काम ठुलो भूमिका खेलेँ ।

स्थानीय तह निर्वाचनमा गठबन्धन पनि मेरो नेतृत्वमा थियो । कांग्रेसले अधिकतम पालिका जित्यो । ०७४ को निर्वाचनमा कांग्रेसको जनमत ३० प्रतिशत थियो भने यस पटक ४८ प्रतिशतमा पुर्‍याइयो​ । बागमती प्रदेशमा मेरो नेतृत्वको गठबन्धन पनि ८८ प्रतिशत सफल भयो ।

०७४ को निर्वाचनमा  ६६ प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये कांग्रेसले  ७ वटा मात्र जितेको थियो । पछि उपनिर्वाचनमा थप एक गरी ८ वटा जितेको थियो ।​ समानुपातिकबाट १४ सिट गरी कांग्रेस २२ सिटको पार्टी थियो । अहिले प्रत्यक्षतर्फ नै २५ सिट जितिएको छ । १२ सिट समानुपातिक गरी ३७ सिटसहित कांग्रेस पहिलो पार्टी बनेको छ ।

यो अवस्था निर्माण गर्न सभापतिको हैसियतले मैले राम्रो भूमिका खेलेको मलाइ लाग्छ । यो कुराको पार्टी नेतृत्वले पनि राम्रै ढङ्गले मूल्याङ्कन गरेको मैले पाएको छु । साथै प्रदेशसभामा आएका अधिकांश साथीहरू मेरो पक्षमा देखिनु भएको छ । दलको नेताका रूपमा साढे तीन वर्ष उदाहरणीय रूपमा प्रमुख प्रतिपक्षको भूमिका खेलेँ ।

डेढ वर्ष गठबन्धनको सरकारमा समावेशी ढङ्गले पार्टीका साथीहरू मन्त्री बनाएँ । समावेशी, न्यायको सिद्धान्तलाई आत्मसात् गरी सन्त चेपाङ, कल्पना नेपाली, रजनी जोन्छे र निमा लामा लगायतलाई मन्त्री बनाउने काममा मैले भूमिका खेलेँ ।

संघ र प्रदेशको निर्वाचनमा मुख्यमन्त्री हुने कुरा थियो । पार्टी नेतृत्वको आग्रहमा आलोपालो मुख्यमन्त्रीको सहमतिबाट पनि ब्याक भएँ । बागमतीमा मुख्यमन्त्री परिवर्तन हुँदा सबैतिर अप्ठ्यारो पर्छ भनेर सभापतिले भनेपछि मुख्यमन्त्री त्याग गरियो । यी जिम्मेवारी, त्याग, निरन्तरता, धैर्यतालाई हेरेर दलभित्र मेरो नेतृत्व सबैले स्वीकार गर्छन् । जहाँसम्म मलाई सर्वसम्मत रूपमा दलको नेता बनाउँछन् भन्नेमा विश्वस्त छु ।

संसदीय दलमा सर्वसम्मत हुने तपाईंंको विश्वासमा यस पटक संस्थापन पक्षबाटै चुनौती हुने सङ्केत देखिन्छ नि ? संस्थापन पक्षबाट केन्द्रीय सदस्य बहादुरसिंह लामाले पनि संसदीय दलको नेतामा दाबी गर्नु भएको छ । यसलाई कसरी हेर्नु भएको छ ?

साथीहरू दाबी गर्नु स्वाभाविक हो । त्यसलाई अन्यथा लिने कुरा आएन । नेपाली कांग्रेस प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी हो । त्यसैले आन्तरिक प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दरता हो । साथीहरुले प्रतिस्पर्धामा भाग लिन खोग्नु, मुख्यमन्त्री हुन खोज्नुलाई मैले अन्यथा लिएको छैन ।

अहिले मिडियामा जे–जे कुरा आएता पनि अन्तिममा मेरो नाममा सर्वसम्मत नै होला । प्रतिस्पर्धा हुने अवस्था आए त्यसलाई स्वाभाविक रूपमा ग्रहण गरिन्छ ।

संस्थापन पक्षबाटै दोस्रो व्यक्ति मैदानमा आएपनि तपाईंं ब्याक हुनुहुन्न हैन त ?

संस्थापन पक्षकै दुई वटा भए पनि, अरु पक्षकै आए पनि म ब्याक हुन्न । अहिले कांग्रेसमा जति गुट उपगुट भएपनि बागमती प्रदेशको संसदीय दलको नेतामा ३७ जना प्रदेशसभा सदस्यले मन र मतले मलाई विश्वास गर्नुहुन्छ भन्ने मेरो आफ्नो विश्वास छ ।

तपाईंंले संसदीय दलको नेता बनेर मुख्यमन्त्रीको यात्रा पक्का गर्दा पनि बागमती प्रदेश गठबन्धनमा कांग्रेसकै भागमा पर्छ भन्ने के छ ? गठबन्धनभित्र भागबण्डा गर्दा माओवादी वा एकीकृत समाजवादीले पाउने सम्भावना पनि त रहन सक्छ ?

बागमती प्रदेशको सरकार कांग्रेसको भागमा पर्छ भन्ने आधार धेरै छन् । किन भने हिजो नेपाली कांग्रेसले समाजवादीलाई छाड्यो । त्यतिबेला आगामी सरकारको नेतृत्व कांग्रेसले गर्ने भनेर कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट हस्ताक्षर भएको थियो ।

हि​जोको सहमति र आज कांग्रेस सबैभन्दा ठुलो दल भएकाले माओवादी र समाजवादीका साथीहरू सरकारको नेतृत्व दाबी गर्न नैतिक बन्धनमा हुनुहुन्छ । नयाँ सरकार पनि यी नै तीन दल मिलेर बन्ने अवस्थामा कांग्रेसलाई नदिएर अर्कोले लिने भन्ने कुरामा राजनीतिक इमान्दारिता, नैतिकता र समाझादारिताले पनि त काम गर्छ होला ।

गठबन्धनको केन्द्रीय नेतृत्वबीच सात प्रदेशको भागबण्डा गर्दा बागमती प्रदेशमा कांग्रेसको भागमा नपर्ने गरी सहमति भएको अवस्थामा के हुन्छ ?

यो सम्भव नै छैन । बागमती प्रदेशमा गठबन्धनको सरकार बन्दा कांग्रेसको नेतृत्व नहुने कुरा पृथ्वी नै फाट्यो भने के हुन्छ भने जस्तै हो । माओवादी र समाजवादीका केन्द्रीय नेतृत्वले पनि बागमती प्रदेश कांग्रेसलाई छाड्नुपर्छ भन्ने कुरालाई नेचुरल ठान्नु भएको पाएको छु । आलोपालोको कुरा होला । तर पहिलो चोटि नेपाली कांग्रेसको नेतृत्वमा बागमतीमा सरकार बन्ने कुरामा गठबन्धनभित्र दुविधा छैन ।

संस्थापन पक्षकै नेताहरू तपाईंलाई मुख्यमन्त्री हुनबाट रोक्न अहिले बहादुरसिंह लामालाई तपाईंको विरुद्धमा अगाडि बढाउन लागेको भन्ने छ नि ?

संस्थापनको को नेता त्यसरी लाग्यो ? मलाई त्यस्तो लाग्दैन ।

 बागमती प्रदेशको संसदीय दलको नेताका सन्दर्भमा सभापति शेरबहादुर देउवासँग भेटवार्ता भयो ? उहाँको साथ पाउने सम्भावना छ कि छैन ?

बधाई र शुभकामना साटा–साट भयो । मैले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि तयारीमा लागेको जानकारी गराएँ । संसदीय दलको नेताका लागि मैले सभापतिज्यूको साथ हुन्छ भन्ने विश्वास छ भनेँ । उहाँले अब पनि तपाईं नै हो भन्नु भएको छ ।

मुख्यमन्त्री भएर बागमती प्रदेशलाई सातै प्रदेशको रोलमोडल प्रदेशका रूपमा विकास गर्ने तपाईंसँग के छ योजना ?

गरिबलाई शिक्षा, स्वास्थ्य र आवासको निःशुल्क सुविधा उपलब्ध गराउने मेरो मुख्य योजना छ । मैले निःशुल्क स्वास्थ्यका लागि कम्तीमा २ लाखको स्वास्थ्य बिमा गराउने छु । बागमती प्रदेशका आवास विहीन ३ हजार नागरिकको घर बनाइने छ ।

१० हजारको घर बनाउने लक्ष्य छ । बागमती प्रदेशका श्रेष्ठ नागरिकका लागि पालिकास्तरमा गाँस, बाँस, स्वास्थ्य उपचार निःशुल्क गराउने मेरो योजना छ । यो प्रदेशका धार्मिक, आध्यात्मिक स्थलको उजार गरेर ऐतिहासिक स्थलका रूपमा विकास गरिने छ । बागमती सरकार गरिबमुखी, गाउँमुखी, न्यायमुखी र सेवामुखी हुने छ ।

गएको पाँच वर्षको सरकार सञ्चालनले संघीयको औचित्यमाथि प्रश्न उठाएको छ । आगामी पाँच वर्षमा बागमती प्रदेशले संघीताको सान्दर्भिकता पुष्टि हुने गरी काम गर्न सक्छ ?

संघीयता भनेको पहिचान, प्रतिस्पर्धा, समानता र नेतृत्वको विकास हो । त्यो भनेको प्रदेश हो । संघीयताले नेतृत्व जन्माउँछ । विगतका पाँच वर्ष प्रदेशको जग हाल्न समय लाग्यो । प्रदेश सरकारले विकासको गति समात्छ । पाँच वर्षपछि संघीयताप्रतिको आम मानिसको बुझाई परिवर्तन हुने गरी काम हुन्छ, गर्ने पर्छ ।

अब फरक प्रसङ्गमा कुरा गरौँ । मकवानपुरमा गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभालाई तपाईंले असहयोग गरेको भन्ने आरोप छ । खास कुरा के हो ?

निर्वाचन आयोगबाट प्रत्यक्ष र समानुपातिकको मत परिणाम आइसकेको छ । यसको सत्य, तथ्यको धरातल के हो भनेर त्यहाँ हेर्न सकिन्छ । जित्नेले जितिसक्यो, हार्नेले हारिसक्यो । मकवानपुरको क्षेत्र नम्बर १ मा कांग्रेसबाट डिना उपाध्याय लड्नुभयो ।

क्षेत्र नम्बर २ एकीकृत समाजवादीका विरोध खतिवडा लड्नु भयो । १ नम्बर क्षेत्रमा कांग्रेसको ३४ हजार ७२, माओवादीको १६ हजार ५४२, राप्रपाको ४ हजार ७०,समाजवादीको ३ हजार २८३ मत थियो । एमालेको मत जम्मा ३८ हजार ५६ थियो । डिना उपाध्याय १४ हजार ९४ मतले अघि हुनुहुन्थ्यो ।

यस्तै २ नम्बर क्षेत्रमा स्थानीय तहमा कांग्रेसको ३४ हजार २४०, माओवादीको २२ हजार ६०७ र समाजवादीको २ हजार ७१९ मत थियो ।  एमालेको ३६ हजार ८६६ मत मात्र थियो । विरोध खतिवडाजी २२ हजार ७ सय मतले अगाडि हुनुहुन्थ्यो । उहाँ ४५ सयले चुनाव हार्नुभयो ।

उहाँलाई सोध्नुहोला इन्द्र बानियाँले असहयोग गरेर हार्नु भएको हो भनेर । स्थानीय तहमा हाम्रो गठबन्धनलाई मत मतदाताले प्रतिनिधि र प्रदेशसभामा मन र मत फेर्नुभयो भनेर बुझ्नु  गर्‍यो । म चुनाव लडेको निर्वाचन क्षेत्र नम्बर २ को (ख)मा स्थानीय तहका अनुसार गठबन्धनको मत १६ हजारभन्दा बढी थियो । जम्मा १७ सय ८७ मतले मैले निर्वाचन जितेँ । अ आफै मुस्किलले जितेँ भने ।

कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष ‘डिना’ तपाईंंकै असहयोगका कारण हारेको भनेर गम्भीर प्रश्न उठेको छ । यसले तपाईंलाई समस्या भएको भन्ने छ नि ?

सहमहामन्त्री डिना उपाध्यायले इन्द्र बानियाँको असहयोगले चुनाव हारेको भन्ने कुरा विभिन्न माध्यमा आएको मैले पनि सुनेँ । २०७० मा त्यहाँ (हालको १ नम्बर क्षेत्रको (क) प्रदेश निर्वाचन क्षेत्र) बाट चुनाव जितेको थिएँ । त्यही प्रदेशबाट डिना उपाध्यायलाई राप्रपाका दीपकबहादुर सिंहको भन्दा ७ हजार ४२१ मत बढी आएको छ ।

१ नम्बर क्षेत्रको (ख) प्रदेशमा कांग्रेसका प्रदेशसभा उम्मेदवार आनन्दराम पराजुलीले १३ हजार ३६७ पाउनु भएको छ । त्यही प्रदेशमा डिना उपाध्यायलाई ८ हजार ४१४ मत मात्र पाउनु भएको छ । उहाँलाई घात अन्तर्घात भएको भए आनन्दरामबाटै भयो । प्रदेशसभा उम्मेदवारलाई मत हालेका मतदाताले किन उहाँलाई मत हालेनन् ? प्रश्न यहाँनिर छ ।

मलाई प्रश्न गरेर हुन्छ ? प्रदेशसभामा उहाँले नै भनेको मान्छेलाई टिकट पाएको हो । उहाँले मलाई आनन्दराम पराजुली उम्मेदवार चाहिन्छ, मलाई चुनाव जित्न सजिलो हुन्छ भनेर संसदीय बोर्डमा भन्नु भएको हो । तर त्यहाँ आनन्दराम पराजुलीलाई १३ हजार ३६७ मत आउँदा उहाँलाई ८ हजार ४१४ मत मात्र आयो ।

प्रतिनिधि र प्रदेशसभा उम्मेदवार ४ हजार ९५३ मतको फरक देखियो । उहाँ चुनाव २३८७ मतान्तरले हार्नु भएको हो । आनन्दराज पराजुलीलाई आएको मत डिना उपाध्यायलाई आउँदा मात्र पनि २५ सय ६६ मतान्तरले जित्नुहुन्थ्यो । अनि मलाई चुनाव हरायो भन्ने मिल्छ ? कि जनताले मत हालेनन् भन्नुगर्‍यो​ कि आनन्द पराजुलीले उहाँका लागि मेहनत नगरेको भनेर बुझ्नु पर्‍यो​।

त्यसो भए तपाईंमाथि लगाइको आरोप निराधार हो त ?

यो प्रमाण, तथ्य र यथार्थले आरोप निराधार हो भन्ने प्रस्ट देखिन्छ । मप्रति भ्रम सिर्जना गर्न आवश्यक छैन । यद्यपि उहाँले मलाई तपाईंले हराएको हो भनेर भन्नु भएको छैन ।

त्यसैले मैले यसमा धेरै चासो राखेको छैन । उहाँले नै मलाई इन्द्र बानियाँले हराएको हो भनेर कुरा कुनै माध्यमा अभिव्यक्ति आयो भने थप प्रस्ट पार्न म तयार छु । अहिले मकवानपुरमा जनताको गठबन्धन भएन । नेता र नेतृत्वको गठबन्धनलाई जनताले मत हालेको देखिएन । उम्मेदवारी छनोटमा पनि केही कमजोरी रह्यो ।

डिना उपाध्याय र आनन्दराम पराजुली हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ कै हुनुहुन्थ्यो । दुबै खसआर्य क्लस्टरलाई टिकट दिइयो । त्यहाँ जातीय र भूगोल सन्तुलन नमिलेपछि चुनाव हारियो भन्ने मैले सुनेको छु । जिल्ला सभापति बुद्ध लामाले टिकट नपाउनुको कारण हो भन्ने केही मान्छेको बुझाइ छ । म त्यतातिर जान्नँ । तर भेगीय र जातीय सन्तुलन मिलेको भए चुनाव जित्न केही सहज हुन्थ्यो भन्ने लाग्छ । मतले त्यस्तो देखाएको छ ।          (रातोपाटीबाट)