२०८० चैत्र १५, बिहीबार    

मन्त्रालय फुटाएर बागमतीमा मिलाइयो भागबण्डा, आजै मन्त्रिपरिषद् विस्तार हुने

२०८० जेठ ७, आईतबार ११:५६ बजे

बागमती प्रदेश सरकार विस्तारका लागि गाँठो फुकेको छ । सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति भएको हो । बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा एउटा मन्त्रालय फुटाएर कुल १२ मन्त्रालय बनाउने सहमति भएको हो । जसअनुसार नेपाली कांग्रेसले ६ वटा मन्त्रालय पाउने भएको छ । हाल सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित चार मन्त्री सरकारमा छन् । यस्तै कांग्रेसबाट दुई जना सहभागी भइसकेका छन् ।

मन्त्रिपरिषद विस्तारका क्रममा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ र नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने भएको हो । भागबण्डा मिलेसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । आज कांग्रेसबाट थप चार मन्त्री सरकारमा सामेल हुँदैछन् । तीमध्ये तीन जनालाई विभागीय जिम्मेवारी दिने र बाँकी एक जनालाई तत्काल बिना विभागीय जिम्मेवारीमा राखिने भएको छ । 

मन्त्रालय फुटाएर कार्यविभाजन नगरुन्जेल कांग्रेसका एक जना मन्त्रीलाई बिना विभागीय राखिने स्रोतले जनायो । यस्तै, नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बन्ने छन् । स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीलाई कृषि तथा पशुपक्षी मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालय दिइने भएको हो । यस्तै, कांग्रेसलाई वन तथा वातावरण मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र स्वास्थ्य मन्त्रालय दिने सहमति भएको छ । कांग्रेसका एक मन्त्रीलाई भने पछि विभागीय जिम्मेवारी दिइने जनाइएको छ । 

नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य कृष्णप्रसाद शर्मा खनालका अनुसार उनीसहित मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाबीच आइतबार बसेको बैठकले भागबण्डा टुङ्ग्याएको हो । आजै दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण गराउने गरी तयारी भइरहेको उनले जानकारी दिए ।