२०८१ बैशाख २७, बिहीबार    

लेखापाल नहुँदा बर्डफ्लुबाट क्षति भोगेका किसानले पाएनन् भुक्तानी

२०७९ चैत्र २३, बिहीबार १४:०२ बजे

पशुसेवा विज्ञ केन्द्र हेटौंडामा लेखापाल नहुँदा सरकारले बर्डफ्लुको क्षतिपूर्तिवापत् किसानलाई उपलब्ध गराएको राहत रकम वितरणमा ढिलाइ भएको छ । संघीय कृषि मन्त्रालयले वाग्मती प्रदेश मातहतमा रहेको विज्ञ केन्द्रमा बर्डफ्लुको क्षतिपूर्ति उपलब्ध गराउन १ करोड ८७ लाख ८९ हजार ५४४ रुपैयाँ उपलब्ध गराएको दुई हप्ता वित्दा पनि लेखापाल नहुँदा उक्त रकम वितरण हुन सकेको छैन ।

बर्डफ्लुका कारण ठूलो आर्थिक क्षति व्यहोरेका किसानहरु राहत रकम नपाउँदा रुष्ट बनेका छन् । ‘बर्डफ्लु रोग लाग्नासाथ रोगी–निरोगी सबै कुखुरा, अन्डा र दानासमेत नष्ट गर्ने । अहिले सरकारले उपलब्ध गराएको राहत भने नदिने । यो हामीमाथि गरिएको अन्याय हो’, कुखुरा व्यवसायी संघ मकवानपुर महासचिव रविन ढकालले भने । बर्डफ्लुका कारण किसानले ठूलो आर्थिक क्षति व्यहोरेको अवस्थामा कर्मचारीको अभाव देखाएर आफूहरुलाई दुःख दिने काम भएको उनको भनाइ छ ।

पशु सेवा विभागका अनुसार केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा एकवर्ष अगाडि मकवानपुरको विभिन्न स्थानको कुखुरामा बर्डफ्लु संक्रमण देखा परेको थियो । राहतको पर्खाइमा रहेका ३७ जना किसान सरकारले उपलब्ध गराएको राहत अन्य जिल्लामा वितरण भइसक्दा यहाँ नभएपछि आन्दोलनको तयारीमा जुटेका छन् । ‘सरकारले किसानलाई एक वर्ष ढिलो क्षतिपूर्ति रकम उपलब्ध गराउँदा पनि कर्मचारीको द्वन्द्व र अभाव देखार वितरणमा ढिलाइ गर्ने काम भइरहेको छ । यस विषयमा हामीले सबैलाई जानकारी गराइसक्यौं । तर, काम भएन’, कुखुरा व्यवसायी संघ मकवानपुर पूर्वअध्यक्ष राजु अधिकारीले भने ।

बजार मूल्य अनुसार निर्धारण भएको क्षतिपूर्ति रकम प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा बसेको बैठकले वितरण गर्ने निर्णय गरेपनि कर्मचारीको अभावमा केहीदिन ढिला हुन गएको वाग्मती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए । ‘दुईचार दिनमा यो विषय टुंगिन्छ । सबै निर्णय र प्रक्रिया पूरा भइसकेको छ’, उनले भने । तत्काल विज्ञ केन्द्रमा लेखापाल उपलब्ध गराउने तयारी मन्त्रालयले गरिरहेको उनको भनाइ छ ।प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने समितिको सिफारिसका आधारमा क्षतिको ७५ प्रतिशत राहत रकम किसानले पाउने व्यवस्था छ । यसका लागि सरकारले ‘बर्डफ्लु नियन्त्रण नियमावली २०७८’ जारी गरेको छ ।

केन्द्र प्रमुख डा. बज्रकिशोर ठाकुरका अनुसार कार्यालयमा पुस महिनादेखि लेखापाल छैनन् । जसको कारणले कर्मचारीको तलब समेत वितरण भएको छैन । ‘हामीले लेखापाल नभएको विषय माथिल्लो निकाय सबैलाई जानकारी गराइसकेका छौं । कर्मचारीले तलब समेत पाएका छैनन् । हामीले उधारोमा तोकिएको काम गरिरहेका छौं’ ठाकुरले भने । उनका अनुसार प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयबाट लेखापाल कार्यालयमा उपलब्ध गराएपनि तलब मात्र खुवाउन सक्ने भन्दै अन्य भुक्तानी गर्न नमानेपछि सबै काम ठप्प भएको हो । ‘कोलेनिकाले पठाएको कर्मचारी एकदिनबाट आउनु भएन । तलब, क्षतिपूर्ति र कार्यालयका सबै खर्चको विषय टुंग्याउनुपर्छ भनेपछि उहाँ जानुभयो’, उनले भने ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हरि उपाध्यायका अनुसार विज्ञ केन्द्रमा लेखापाल गएपनि आन्तरिक समस्या सिर्जना भएपछि काम नभएको हो । ‘त्यहाँको समस्या समाधान गर्ने गरी कृषि मन्त्रालयबाट कर्मचारी पठाइने जानकारी प्राप्त भएको छ’, उनले भने ।