२०८१ बैशाख २०, बिहीबार    

हेटौंडामा मेयरकप फुटबल सुरु, हेटौंडा–३ को विजयी सुरुवात

२०८० चैत्र २४, शनिबार १८:२१ बजे

हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता–२०८० शनिबारबाट सुरु भएको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–३ ले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा ३ नम्बर वडाले ११ नम्बर वडालाई सडनडेथमा ५–४ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णयको लागि टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेरकमा ३–३ गोलभएपछि सडनडेथमा ३ नम्बर विजयी भएको हो ।

सडनडेथमा ३ नम्बरको लगातार ३ वटै प्रहार गोलमा परिणतहुँदा ११ नम्बरको तेस्रो प्रहार गोलरक्षकले बचाएका थिए । खेलमा तीनवटा पेनाल्टी प्रहार रोकेका ३ नम्बर वडाका गोलरक्षक गोपी बर्तौला म्यान अफ दी म्याच घोषित भए । उनले केल्मीको तर्फबाट विशेष उपहार प्राप्त गरे ।

हेटौंडाको १९ वटा वडा सहभागी प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी थिइन् । उद्घाटन समारोहमा हेटौंडाका उपमेयर राजेश बानियाँ, मकवानपुर जिल्ला फुटबल संघ टीकाराम लामा तथा आयोजक हेटौंडा नगर खेलकुद विकास समिति अध्यक्ष रविन्द्र घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगिताको फाइनल वैशाख ४ गते हुनेछ । प्रतियोगिताको विजेतालाई २ लाख, उपविजेतालाई १ लाख ५० हजार रुपैयाँ, तेस्रो र चौथो हुने टोलीलाई क्रमशः १ लाख र ५० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी तथा प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।