२०८१ बैशाख २०, बिहीबार    

२५ मिटर भत्काउन ६० वटा डोजर प्रयोग गरिने

२०८० श्रावण ११, बिहीबार ०९:१० बजे

पूर्वपश्चिम राजमार्गअन्तर्गत् मकवानपुरको हेटौंडा बजार क्षेत्रको सडक विस्तारमा ६० वटा डोजर प्रयोग गरिने भएको छ ।

सर्वोच्चको अर्को आदेशसँगै सडक विस्तार रोकिने बताएपनि सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश यादवले सडक विस्तार कार्य अगाडि बढ्ने जनाएका छन् । उनले सडक विस्तारको तयारी अगाडि बढिसकेको र समय मात्र कुरेको प्रतिक्रिया दिएका छन् । हेटौंडा बजार क्षेत्रको ३४१ घरधनीहरुले २०७३ मा नै दायर गरेको मुद्धाको फैसला भइसकेकाले सोहीअनुसार सडक विस्तार कार्य अघि बढ्ने उनले बताए । सर्वोच्चको हालको अल्पकालीन आन्तरिम आदेशले नागरिकमा भ्रम सिर्जना गरेको उनको भनाई छ ।

उनले भने, ‘सर्वोच्चको आदेशले विस्तार कार्य प्रभावित हुँदैन । साउन १६ मा सडक विस्तार कार्यको सुरुवात हुन्छ ।’तत्कालका लागि अदालतको आदेश अनुसार २५ गज सडक सिमा विस्तार गरिने र सोही अनुसार सडक सीमामा रहेका घरटहरा हटाइने उनको भनाई छ ।

सडक सीमा २५ मिटर कायम भएकाले उक्त सीमासम्म कायम गर्न आवश्यक ७ फिट जग्गा अधिग्रहणको प्रक्रिया पुरा गरी सडक विस्तार गरिने उनले बताए ।

‘यो आन्तरिम आदेशले हेटौंडा बजारको विस्तार रोकिदैन । अल्पकालीन आदेश लिएका व्यक्तिको हकमा अदातलले छलफलका लागि जवाफ माग गरेको छ । १६ गते पेशी तोकिएको छ । सोहीअनुसार हामी छलफलमा सहभागी हुन्छौ । छलफल चल्दै गर्छ, सडक विस्तार कार्य पनि जारी रहन्छ ।’ उनले भने ।

सडक विस्तारमा अल्पकालीन आदेश प्राप्त भएको घरहरुको हकमा सो घरको फैसलासम्म कुर्ने र अन्य घरहरुको हकमा कानुन र अदालतको आदेशअनुसार अघि बढ्ने उनले बताए । सडक विस्तारको क्रममा कार्यालयले न्यूनतम ६ र अधिकतम आवश्यकताका आधारमा ६० वटा सम्म डोजर प्रयोग गरिने प्रमुख यादवको भनाई छ ।