२०८१ बैशाख १४, शुक्रबार    

आग्रा जिल्लास्तरीय भलिबल च्याम्पियन

२०७९ पौष २, शनिबार १७:१९ बजे

थाहा नगरपालिकाको आग्रा स्पोर्टस् क्लबले जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

हेटौंडा–४ स्थित हुप्रचौरमा भएको फाइनल डर्वी भिड्न्तमा थाहा नगरकै विनयवावु स्मृति प्रतिष्ठानलाई पराजित गर्दै आग्राले २० औं संस्करणको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता च्याम्पियन भएको हो ।

बसामाडी जेसीज हेटौंडाको आयोजनामा मंसिर २८ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनलमा आग्राले प्रतिष्ठानलाई २५–२०, २६–२४ र २६–२४ को सोझो सेटमा पराजित गरेको हो । सात टोली सहभागी प्रतियोगिताको प्रायोजक हेटौंडा–१० स्थित स्वर्ण भण्डारले गरेको थियो ।

प्रतियोगिताको विजेतालाई ६५ हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । प्रतियोगितामा आग्राका पुजन गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । आग्राकै रमेश थिङ उत्कृष्ट स्पाइकर र सञ्जय थिङ उत्कृष्ट स्पाइकर घोषित भए ।

प्रतियोगितामा सहभागी बज्रबाराही अनुशासित क्लबको उपाधिबाट सम्मानित भयो । विजेता तथा उपविजेता र उत्कृष्ट खेलाडीलाई प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु र आयोजक अध्यक्ष चिराग अग्रवालले नगद तथा पुरस्कार वितरण गरेका थिए ।