२०८१ बैशाख १२, बुधबार    

मकवानपुर सिमरा गोल्डकपको सेमिफाइनलमा

२०७९ चैत्र १२, आईतबार ११:२२ बजे

सुरुवाती अग्रता जोगाउन नसक्दा टाई टाइव्रेकरमा ४–३ को कठिन जित निकाल्दै मकवानपुर ११ जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

बाराको सिमरा रंगशालामा जारी प्रतियोगितामा शनिबार मकवानपुर ११ ले बनाएको २–० को सुरुवाती अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाईव्रेकरमा धकेलिएको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि ३० मिनटको अतिरिक्त समयमा दुबै टिमले १–१ को बराबरी खेले ।

मकवानपुरको जितमा टाईव्रेकरमा संजिव अर्याल, मनिष पौडेल, सुजन गुरुङ र सुदिप श्रेष्ठले गोल गरे । मकवानपुरका अभिनाष खड्काको प्रहार भरतपुरका गोलरक्षकले बचाउ गरे । भरतपुरका लागि सजिन थापा, भिष्म क्षेत्री र सुनिल श्रेष्ठले गोल गरे । टिप्सन राईको प्रहार क्रसबार माथिबाट बाहिरीयो भने आकाश थापामगरको प्रहार गोलपोष्टबाट रिबाउण्ड भयो ।

निर्धारित समयको खेलमा मकवानपुरले खेलको दशौं मिनटमै २–० को अग्रता लिएको थियो तर त्यसलाई जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाईव्रेकरमा धकेलिएको थियो । मकवानपुरले खेलको चौथो मिनटमा सुजन गुरुङको गोलबाट अग्रता बनायो । भरतपुरका गोलरक्षकले आफ्ना खेलाडीलाई पास दिन खोजेको बल विट गर्दै करिब ३० यार्ड परबाट सुजनले गोल गरेका थिए ।

१–० ले पछि परेको भरतपुरविरुद्ध आक्रामक खेल खेलेको मकवानपुरले खेलको दशौं मिनटमा अग्रता दोब्बर पा¥यो । मनिष पौडेलले करिब ४५ यार्ड परबाट गरेको प्रहार गोलमा परिणत हुँदा भरतपुरका गोलरक्षक मनोज गुरुङले अनुमान समेत गर्न सकेनन् । ३३ औं मिनटमा भरतपुरका भिष्म क्षेत्रीले बराबरी गोल फर्काए । मकवानपुरका सञ्जिब अर्यालले फाउल गरेपछि पाएको फ्रिकिकमा सजिन थापाले करिब १९ यार्डबाट हानेको प्रहारलाई भिष्म क्षेत्रीले आकर्षक हेडिङ मार्फत गोलमा परिणत गरेका थिए ।

खेलको ५५ औं मिनटमा सजिन थापामगरले भरतपुरका लागि बराबरी गोल गरे । सुनील श्रेष्ठको पासमा सजिनले डिबक्स भित्रबाट सुन्दर गोल गरे । करिब पाँचहजार दर्शकको उपस्थिती रहेको सिमरा रङ्गशालामा पहिलो क्वाटरफाइनल रोमाञ्चक रह्यो । निर्धारित ९० मिनटको खेल बराबरी खेलेका दुबै टिमले अतिरिक्त समयको ३० मिनेट जितका लागि कठिन संघर्ष गरे ।

अतिरिक्त समयको पाँचौ मिनटमा मकवानपुरले भरतपुरका सुधांश चौधरीको आत्मघाती गोल बाट ३–२ को अग्रता बनाएको थियो । गोल लाईनबाट बल क्लिएर गर्ने क्रममा सुधांशको प्रयासले जाली चुमेपछि मकवानपुरका समर्थक उत्साहित बने ।

मकवानपुरको अग्रतालाई भरतपुरका सुनील श्रेष्ठले अतिरिक्त समयको १५ औं मिनटमा बराबरीमा ल्याए । सेन्टरलाईनबाट एकल प्रयासमा बल अघि बढाएका सुनीलले करिब ३० यार्ड परबाट बललाई गोल पोष्टको दिशा दिएका थिए ।