२०८० चैत्र १६, शुक्रबार    

कोस्टारिकाले जापानलाई हरायो

२०७९ मंसिर ११, आईतबार १८:०२ बजे

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को खेलमा कोस्टारिकाले जापानलाई १-० ले पराजित गरेको छ । आइतबार अहमद बिन अलि रंगशालामा फुलर स्पेन्सले अन्त्यतिर गरेको गोल नै निर्णायक सावित भयो ।

पहिलो खेलमा जर्मनीलाई हराएको जापान दोस्रो खेलमा भने आफैं स्तब्ध हुनुपर्यो । खेल अवधिभर थुप्रै आक्रमण बुनेको जापानले त्यसको सदुपयोग गर्न नसक्दा नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन सकेन । यता कोस्टारिकाले भने पहिलो खेलमा ७-० को हारबाट सानदार पुनरागमन गरेको छ ।

कोस्टारिकाको जितमा फुलर स्पेन्सले ८१ औं मिनेटमा गोल गरेका थिए । उनले येल्त्सिन तेजेडाको पासलाई पेनाल्टी क्षेत्रनजिक नियन्त्रणमा लिँदै गोल गरेका थिए । उनको प्रहार गोलरक्षक शुइची गोन्डाको हातमा लाग्दै गोल भएको थियो । खेल अवधिभर कोस्टारिकाले पोस्टमा गरेको एकमात्र प्रहार त्यहि थियो ।

यस नतिजाले समूह ई मा भने जर्मनीको सम्भावना खुला भएको छ । समूहमा स्पेन, जापान र कोस्टारिकाको समान ३-३ अंक छ । आज जर्मनीले मध्यरातमा हुने खेलमा स्पेनको सामना गर्नेछ ।