२०८१ बैशाख १५, शनिबार    

विश्वकप छनोट : ब्राजिल र अर्जेन्टिनाको खेल रद्द

२०७९ भाद्र १, बुधबार १४:१९ बजे

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाबीच स्थगित भएको खेल रद्द गर्ने निर्णय लिएको छ । दुवै देशको फुटबल संघको आग्रहमा फिफाले यो निर्णय लिएको हो ।

गत भदौमा भएको ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट खेलको नाटकीय रुपमा रद्द हुन पुगेको थियो । सातौं मिनेटमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधि अर्जेन्टिनी खेलाडीले कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड तोडेको भन्दै मैदानभित्र नै प्रवेश गरेका थिए ।

स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनी खेलाडीलाई समाउन खोजेपछि रेफ्रीले खेल रोकेका थिए । केहीबेर दुवै टोलीका खेलाडीले सल्लाह गरेपनि एकछिनमा अर्जेन्टिनी टोली मैदान छोड्दै बाहिरिएको थियो । त्यसको केहिबेरमा रेफ्री टोली पनि मैदान छोड्दै टनेल भित्र पसे । त्यसपछि खेल स्थगित हुन पुगेको थियो ।

स्थगित भएको उक्त खेल पुन: अष्ट्रेलियाको मेलवर्नमा ११ जुनमा तय भएको थियो । तर खेलका लागि अर्जेन्टिना टिमलाई जान अनुमती नदिएपछि त्यो पनि स्थगित भएको थियो । खेलका लागि भिक्टोरिया सरकारले टिकट विक्री सुरु गरेपनि रोक्नुपरेको थियो ।

पछिल्लो समय भने दुवै संघले छनोट खेल २१ सेप्टेम्बरमा गर्न तयार रहेका थिए । तर विश्वकपको ठिक अघि चोटको डर हुने भन्दै खेल स्थगित गर्न दुवै राजी भए । विश्वकपमा दुवै टोली छनोट भएकाले पनि यो खेलको नतिजाले खासै प्रभाव पर्ने थिएन ।

फिफाले दुवै टोलीलाई नियमावली अनुसार खेलमा सहभागी नभएकोमा जरिवाना तिराउँदै खेल रद्द गर्ने भएको हो । फिफाको नियम अनुसार अफ दुवै टोलीले १ लाख ५० हजार स्विस फ्रान्क्स तिर्नेछन् । छनोटमा ब्राजिल ४५ अंकसहित शीर्षस्थानमा रहँदा अर्जेन्टिना ३९ अंकसहित दोस्रो स्थानमा रहयो । उरुग्वे र इक्वेडर सिधै विश्वकपमा छनोट भए ।

कतार विश्वकपमा अर्जेन्टिना समूह सी मा रहेको छ । अर्जेन्टिनाले मेक्सिको, पोल्यान्ड र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिल समूह जी मा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुनसँग रहेको छ । विश्वकप नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुनेछ ।