२०८१ बैशाख १७, सोमबार    

मंसिर १३ बाट हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने

२०८० मंसिर १२, मंगलबार १३:१६ बजे

हेटौँडामा मंसिर १३ गते बुधबारबाट ‘हेटौँडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ । 

मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता मंसिर १७ गतेसम्म चल्ने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी एक सय २० जना खेलाडीले सहभागिता जनाउनेछन् । अध्यक्ष श्रेष्ठले अहिलेसम्म एक सय एकजना खेलाडीले नाम दर्ता गराइसकेको जानकारी दिए ।

स्विस नियमअनुसार नौ राउन्डमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रत्येक खेलाडीले दश हजार तिरेर रजिस्ट्रेसन गर्नुपर्नेछ। प्रतियोगितामा सहभागी खेलाडीका लागि खाने र बस्नेको सुविधा भने आयोजकले व्यहोर्ने बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम लामाले जानकारी दिए । 

प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ४० हजार रुपैयाँ हात पाउनेछन् । यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ जित्नेछन् । 

यस्तै, छैटाैँदेखि १०औँ स्थानसम्मका प्रत्येक प्रतियोगीले नगद १५ हजार, ११औँदेखि १५औँसम्मले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीयलगायत विभिन्न विद्यामा ३८ जनाले नगदसहित पुरस्कार प्राप्त गर्ने महासचिव लामाले जानकारी दिए । प्रतियोगिता आयोजनाका लागि ६१ लाख १२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष श्रेष्ठले बताए ।