२०८१ बैशाख २०, बिहीबार    

अमेरिका-मेक्सिको सीमा नजिकै ट्रकमा ४६ जनाको शव फेला

२०७९ असार १४, मंगलबार ०८:५६ बजे

अमेरिकाको टेक्ससस्थित सान एन्टोनियोमा ट्रेलर ट्रकभित्र कम्तीमा ४६ जना मृत फेला परेका छन् । मृत अवस्थामा फेला परेका सबै जना आप्रवासी हुन सक्ने भन्दै उनीहरूको पहिचान भने भइनसकेको टेक्ससका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

टेक्ससका गभर्नर ग्रेग एबोटले सोमबार ट्विटरमार्फत् जो बाइडेनको सरकारले ल्याएको घातक खुला सीमा नीतिका कारण यो घटना घटेको आरोप लगाएका छन् । सोही ट्रकमा रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्‍याइएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

मृत्यु भएकाहरू कुन देशका हुन् भन्नेबारे अझै पहिचान हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । फरार रहेका ट्रकका चालकलाई प्रहरीले खोजिरहेको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । सान एन्टोनियो अमेरिका-मेक्सिकोको सीमाभन्दा करिब २५० किलोमिटरको दूरीमा छ । उनीहरूको मृत्यु कसरी भयो भन्नेबारे भने अझै प्रहरीले सार्वजनिक गरेको छैन ।

अमेरिका आप्रवाससम्बन्धी विषय राजनीतिक मुद्दाको विषय बन्ने गरेको छ । गत वर्ष अमेरिका-मेक्सिकोको बोर्डर हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरूको जमातलाई प्रहरीले पक्राउ गरेको थियो । विभिन्न देशबाट मानिसहरू असुरक्षित बाटो हुँदै अवैध रुपमा अमेरिका छिर्ने गर्दछन् ।

सोमबार भएको घटनालाई पनि यहि क्रममा भएको हुन सक्ने आशंका गरिएको छ । यसभन्दा अघि सन् २०१७ मा पनि सान एन्टोनियोको वालमार्टमा एउटा ट्रकमा १० जनाको शव भेटिएको र सन् २००३ मा पनि सान एन्टोनियोकै दक्षिणी क्षेत्र स्वेल्टरिङका १९ जना मृत फेला परेको द गार्जियनले उल्लेख गरेको छ ।