२०८१ बैशाख १३, बिहीबार    

दुईजना नक्कली परीक्षार्थी पक्राउ

२०७९ जेठ १९, बिहीबार २०:४५ बजे

मकवानपुर प्रहरीले लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी दुईजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौँडाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई बिहीबार पक्राउ गरेको हो। हेटौँडा उपमहानगरपालिका–१ स्थित एक विद्यालयमा लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा बसेका पोखरा महानगरपालिका–२ का ४२ बर्षीय दिपेन्द्र प्रसाद बस्ताकोटीलाई प्रहरीले पक्राउ गरेको छ। उनी महोत्तरीका अभय कुमार यादवको सट्टा परीक्षा दिन बसेका थिए।

प्रहरीले उनको साथबाट ५८ हजार ५ सय रुपैँया, ४ जनाको नागरिकता, दुईवटा मोवाइल फोन र उनको आफ्नै नाममा रहेको चालक अनुमतिपत्र बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए।

त्यसैगरी, हेटौँडा–११ स्थित यातायात व्यवस्था कार्यालय हेटौँडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमति पत्रको परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरको बकैया गाउँपालिका–७ का टुकनाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोष गौतमले परीक्षा दिएको पाइएपछि पक्राउ गरिएको डिएसपी कार्कीले बताए। दुवै जनामाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।