२०८३ बैशाख ५, शनिबार    

शिक्षा सुधारमा अरनिको माविको अग्रसरता

२०८३ बैशाख २, बुधबार १६:४२ बजे

हेटौंडा–१९ स्थित अरनिको माध्यमिक विद्यालयले विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्दै विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न नयाँ पहल सुरु गरेको छ।

आगामी शैक्षिक सत्रदेखि घट्दो विद्यार्थी आकर्षण र अभिभावकको चासो बढाउने उद्देश्यले विद्यालयले नेपालीसँगै अंग्रेजी माध्यमबाट पनि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । विद्यालयले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो वर्तमान शैक्षिक अवस्था तथा भविष्यका योजनाहरू सार्वजनिक गरेको हो ।

निजी विद्यालय तथा अंग्रेजी माध्यमप्रति अभिभावकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै विद्यालयले आफूलाई परिमार्जन गर्ने नीति अघि सारेको जानकारी दिइएको छ। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गान्धी घलानका अनुसार हाल नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाइ भइरहेकोमा आगामी सत्रदेखि कक्षा ४ सम्म विस्तार गरिने र क्रमशः माथिल्ला कक्षामा पनि लागू गरिँदै लैजाने योजना रहेको छ ।

उनले अंग्रेजी माध्यमको पढाइ सुरु भएपछि विद्यार्थी र अभिभावकमा उत्साह बढेको बताइन्। “सक्षम अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पठाउने प्रवृत्ति छ, तर आर्थिक तथा पारिवारिक समस्यामा रहेका बालबालिकालाई पनि गुणस्तरीय शिक्षा दिने उद्देश्यले हामीले अंग्रेजी माध्यम सुरु गरेका हौं,” उनले भनिन्। साथै उनले सबै अभिभावकलाई यस अभियानमा साथ दिन आग्रह गरिन् ।

२०३२ सालमा स्थापना भएको विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ५०२ विद्यार्थी अध्ययनरत थिए। विद्यालयका प्रधानाध्यापक विष्णु परियारका अनुसार केवल नेपाली माध्यममा सीमित रहँदा विद्यालय प्रतिस्पर्धी बन्न नसक्ने महसुस गरी वडा अध्यक्षको पहलमा अघिल्लो वर्षदेखि अंग्रेजी माध्यम सुरु गरिएको हो ।

उनले कम शुल्कमा गुणस्तरीय र स्नेहपूर्ण वातावरणमा शिक्षण सिकाइ उपलब्ध गराउने लक्ष्य रहेको बताए । सहायक प्रधानाध्यापक राजु घलेले बोर्डिङ विद्यालयसरह गुणस्तर कायम गर्ने उद्देश्यले नतिजा सुधारमा विशेष ध्यान दिइएको जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका–१९ का वडा अध्यक्ष नरनाथ सुवेदी ‘नवराज’ले भौगोलिक रूपमा विकट क्षेत्रको शिक्षाको अवस्था सुधार गर्न आफू सक्रिय रहेको बताए ।

विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष रामप्रसाद पौडेलले विद्यार्थीको शैक्षिक सुधारमा शिक्षकसँगै अभिभावक र स्वयं विद्यार्थीको पनि समान भूमिका रहने धारणा व्यक्त गरे ।