२०८१ बैशाख १४, शुक्रबार    

रमा आले र माधव पौडेलले फिर्ता गरेनन् गाडी

२०७९ आश्विन १०, सोमबार १०:१८ बजे

१ असोजमा निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची बुझाएसँगै कार्यकाल अन्त्य भए पनि बागमती प्रदेशका दुईवटा समितिका सभापतिले गाडी, मोबाइल, ल्यापटपलगायत सरकारी सुविधा फिर्ता गरेका छैनन् । १ असोजमै प्रदेश सभा सचिवालयमा बिदाइ कार्यक्रम भए पनि उद्योग, पर्यटन तथा वातावरण समिति सभापति रमा आलेमगर र प्रदेश मामिला समिति सभापति माधवप्रसाद पौडेलले सेवा सुविधा फिर्ता नगरेका हुन् ।

उद्योग, पर्यटन तथा वातावरण समिति सभापति एकीकृत समाजवादीकी मगरले प्रदेश ३–०३–००१ झ ००२२ नम्बरको स्कारपियो र ल्यापटप, प्रदेश मामिला समिति सभापति एकीकृत समाजवादीका पौडेलले प्रदेश ३–००३–००१ झ ००२३ नम्बरको स्कारपियो र ल्यापटप फिर्ता गरेका छैनन् ।

प्रमुख प्रतिपक्ष दलकी नेता अष्टलक्ष्मी शाक्यले प्रदेश ३–०३–००१ झ ००२१ नम्बरको स्कारपियो, प्रमुख सचेतक दीपक निरौलाले प्रदेश ३–०३–००१ झ ००२८ नम्बरको स्कारपियो र सत्तापक्ष एकीकृत समाजवादीकी मुख्य सचेतक मुनु सिग्देलले प्रदेश ३–०३–००१ झ ००२४ नम्बरको स्कारपियो गाडी बुझाइसकेका छन् । 

प्रदेश सभा सचिवालयका अनुसार सार्वजनिक लेखा समिति सभापति कांग्रेसका न्हुच्छेनारायण श्रेष्ठले पनि प्रदेश ३–०३–००१ झ ००२० नम्बरको स्कारपियो बुझाएका छन् । तर, उनले ल्यापटप भने फिर्ता गरेका छैनन् । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति एमालेका केशवप्रसाद पोखरेलले प्रदेश ३–०३–००१ झ ००२५ नम्बरको स्कारपियो, अर्थ तथा विकास समिति सभापति एमालेका नारायणबहादुर सिलवालले प्रदेश ३–०३–००१ झ ००२७ नम्बरको स्कारपियो बुझाएका छन् ।