वाग्मती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभीटी) को प्रमुख कार्यकारी निर्देशक नियुक्तिको तयारी गरेको छ । प्रदेश सरकारले खुल्ला प्रतिस्पर्धा मार्फत प्रमुख कार्यकारी निर्देशकका लागि उम्मेदवार सिफारिस समेत गरेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले दर्खास्त आह्वान गरी परीक्षा तथा अन्तर्वार्ता समेत सम्पन्न गरेर नियुक्तिका लागि ३ जना उम्मेदवार सिफारिस गरेको छ । मन्त्रालयका सचिव बद्रीनाथ गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले प्रमुख कार्यकारी निर्देशकका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरेको हो ।
समितिको सिफारिसअनुसार प्रदेश सरकारको आगामी मन्त्रिपरिषद् बैठकले प्रमुख कार्यकारी नियुक्त गर्ने तयारी गरिएको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्ले जनाएको छ । उक्त पदमा ७ जनाको दर्खास्त परेकोमा सिफारिस समितिले ५ जनाको नाम सर्टलिष्ट गरेको थियो । सर्टलिष्टमा परेका ५ उम्मेदवारको पुस १ गते अन्तर्वार्ता लिएको थियो । उक्त अन्तर्वार्ताको नतिजाअनुसार प्रमुख कार्यकारी निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस गरिएको हो ।
सिफारिस समितिले मध्यपुर ठिमी नगरपालिका–९ का बद्रीप्रसाद दाहालको एक नम्बरमा सिफारिस गरेको छ भने म्यागङ– ४ नुवाकोटकी शान्ति लामा दोस्रो र भरतपुर–१० चितवनका ईश्वरचन्द्र पौड्यालको नाम तेस्रो स्थानमा रहेको छ । दाहाल र लामा नेपाली काँग्रेस निकट मानिन्छन् भने पौड्याल माओवादी केन्द्र निकट रहेको बुझिएको छ ।