२०८१ बैशाख १४, शुक्रबार    

कांग्रेसलाई जिताउन महाधिवेशन प्रतिनिधि मैनालीको आग्रह

२०७९ बैशाख १७, शनिबार १८:११ बजे

नेपाली कांग्रेस मकवानपुरका महाधिवेशन प्रतिनिधि राज मैनाली (दिनेश)ले स्थानीय तह निर्वाचनमा काङ्ग्रेसको आधिकारीक उम्मेदवरलाई जिताउन अपिल गरेका छन् ।

उनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्रका असन्तुष्टिहरुलाई पार्टीमै बसेर छलफल र बहस गरेर टुंग्याउन अनुरोध गर्दै पार्टीका सबै नेता कार्यकर्तालाई स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवार जिताउने अभियानमा जुट्न अपिल गरेका हुन् । ‘हामी पार्टीभित्रका सच्चा कार्यकर्ता हौं भने पार्टीको आन्तरिक अधिवेशनको विषयलाई आम निर्वाचनमा आएर असन्तुष्टि देखाउनु हुँदैन ।’, उनले टिकट वितरणकै विषयलाई लिएर यदाकदा असन्तुष्टिका स्वरहरु सुनिएकोभन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘टिकट पाउनुभन्दा अगाडि टिकट लिन आआफ्नो तर्फबाट लविइङ गर्नुपर्छ तर, टिकटको विषय टुंगिएपछि त्यही विषय लिएर असन्तुष्टि जाहेर गरिरहनु र पार्टीलाई असर पर्ने गरी अभिव्यक्ति दिनु र व्यवहार गर्नु किमार्थ स्वकार्य विषय होइन ।’, उनले भने । ‘नेपाली कांग्रेस पार्टीमा उर्जावान, क्षमतावान र सक्षम नेताहरु छन् । पार्टीमा धेरै क्षमतावान नेताहरु हुँदाहुँदै पनि स्थानीय तह निर्वाचनमा पालिका तह र वडा तहमा उम्मेदवार बन्न आकांक्षीहरु सबैले टिकट पाउन नसकेको विषय सर्वविदितै छ ।’, विज्ञप्तिमा भनिएको छ ।

मैनालीले पार्टीको आन्तरिक अधिवेशन भर्खरै सकिएकोहुँदा कतिपय अवस्था पार्टीभित्रको गुटउपगुटको कारण पनि यस्ता विषयले प्रश्रय पाइरहेको बताए । ‘पार्टीले गुटउपगुटभन्दा पनि जनताको मन जितेका उम्मेदवारका आकांक्षीलाई टिकट दिनुपर्छ र पार्टीले टिकट दिइसकेपछि आफ्नो उम्मेदवार जिताउन सबै एकजुट भएर लाग्नुपर्छ ।’,उनले भने,‘तर,कतिपय अवस्थामा गुटउपगुटको सिकार भएर सक्षम नेताले पनि टिकट नपाउनुभएको होला ।’

मैनालीले आफूले गुटउपगुट भन्दा बाहिर रहेर पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको एक अभियन्ताको हैसियतले अब निर्वाचनको संघारमा गुटउपगुटको विषय नउठाउन समेत कार्यकर्ता र नेताहरुलाई अनुरोध गरेका छन् ।