२०८१ बैशाख २०, बिहीबार    

भीमफेदीका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने

२०८० श्रावण ३०, मंगलबार १७:१५ बजे

मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भएको छ। 

मंगलबार सामाजिक सुरक्षा कोष र भीमफेदी गाउँपालिकाबीच पालिकाभित्र बसोबास गर्ने अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सम्झौता भएको हो। 

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद ज्ञवाली र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। 

गाउँपालिकाले गाउँसभाबाटै स्वीकृत गरेको कार्यक्रमले आज पूर्णता पाएको अध्यक्ष हिदम लामाले जानकारी दिए। चालु आर्थिक वर्षमा गाउँपालिकामा बसोबास गर्ने १ सय जना अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूलाई सो कार्यक्रममा समेटिने अध्यक्ष लामाले बताए। ‘सुरुवात भएको छ। हामी यस वर्ष १०० जना श्रमिकलाई कोषमा आवद्ध गराउनेछौँ। विस्तारै संख्या बढाउँदै लैजानेछौँ ,’ उनले भने। 

सुरुवाती अवस्थामा घरेलु तथा कृषि क्षेत्रमा काम गर्ने श्रमिक निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिक लगायतलाई आवद्ध गराउने योजना रहेको बताए। 

सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, श्रमिकलाई पारिश्रमिकको ९.३७ प्रतिशत रकम थप गरी कोषमा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले बताए।